तपाईँ सुन्दै हुनुहुन्छः

कृष्णनगर सुरइ नदीमा दुई पालिका जोड्ने ट्रसपुल निर्माण

कपिलवस्तु।  कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं‍‍. ९ मा रहेको सुरइ नदीमा मल्ट्रिस्पायन ट्रस पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।  दुई वटा स्थानीय तह जोड्ने यो ट्रस पुल निर्माणसँगै दुवै पालिकाका स्थानीय बासीहरू हर्षित भएका छन् । पुलले कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकालाई जोडेको छ ।

सुरइ नदिमा निर्माणको अन्तिम चरणमा पुगेको पुल निर्माणले विजयनगर गाउँपालिका वडा नं. ३ मा पर्ने महदेइया,मैनारी,पत्थरदेइया,जगदीशपुर,कढिहा गाउँका स्थानीयहरूको मुख्य बजार कृष्णनगर नगरपालिकाको बहादुरगंज बजार आउजाउमा सहज भएको छ । विशेष गरी वर्षाको समयमा सुरइमा आउने बाढीले वारिपारि गर्न समस्या हुने र जीउधनका जोखिम ट्रस पुल निर्माणसँगै हटेको छ ।

‘पुल निर्माणसँगै दुवै पालिकाका नागरिकहरूलाई वारी पारि गर्न सहज भएको कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले बताउनु भयो । खास गरी विजयनगर गाउँपालिकाका वडा नं. ३ का स्थानीयहरूको मुख्यबजार बहादुरगंज हो ,बर्सातको समयमा उनीहरुलाई बजार आउन समस्या हुने गर्थ्यो, अब त्यो समस्या रहेन’, नगर प्रमुख शाहले भन्नुभयो । गाउँपालिकाबाट  बहादुरगंजमा रहेको रामगोरखा मा.वि.मा अध्ययन गर्न आउने विद्यार्थीहरू बर्षायाममा विद्यालय आउन सक्दैनथे । नदिमा पानीको बहाव बढेसँगै पारीबाट पढ्न आउने विद्यार्थीहरू आउन सक्दिनथे अब उनीहरूको लागी पनि सहज भएको छ । 

 पुल बनेपछि आफूहरूलाई बहादुरगंज बजारमा किनमेल गर्न जान सहज भएको विजयनगर गाउँपालिका वडा नं‍. ३ महदेइयाका विरेन्द्र चौधरीले बताउनु भयो ।“पुल बने पछि अब ज्यानको जोखिम मोलेर नदीमा हेलिएर नदी तर्नु पर्ने बाध्यता हटेको छ ” उहाँले भन्नुभयो । वर्षा सुरु भएसँगै बालबालिकाको विद्यालय छुटाउनु पर्थ्यो वा नदीमा बाढि कम हुन्जेल कुर्नु पर्थ्यो पुल बनेसँगै यहाँको जनजीवन सहज भएको छ चौधरीले भन्नुभयो ।  

९६ मिटर लम्बाइ र १.५ मिटर चौडाइ रहेको सो ट्रसपुल कृष्णनगर नगरपालिकाको  १२ लाख ९३ हजार २ सय २३ रुपैयाँ, संघको ससर्त अनुदान ८४ लाख ५५ हजार ६ सय ९४ र उपभोक्ता समितिको १ लाख ९८ हजार ९ सय ५७ गरी कुल ९९ लाख ४७ हजार ८ सय ७५ रुपैयाँ लागतमा निर्माण भएको कृष्णनगर नगरपालिकाका प्राविधिक प्रदिप चौधरीले जानकारी दिनुभयो । 

लिडो नेपालको प्राविधिक सहयोगमा निर्माण भएको ट्रसपुलको ९९ प्रतिशत निर्माणको काम सकिसकेको उपभोक्ता समितिका अध्यक्ष निर्भय सिंहले जानकारी दिनु भयो ।  अब तौल चेकजाँच गरिसकेपछि औपचारिक रुपमा पुल सञ्चालनमा आउने उहाँले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button