तपाईँ सुन्दै हुनुहुन्छः

‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सरकारको पहिलो शर्त’

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन प्रवर्द्धनलाई पहिलो शर्त बनाएर काम थालेको बताउनुभएको छ ।

फाइल तस्बिर

जनवादी चीनको भ्रमणमा रहनुभएका उहाँले छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वर्तमान सरकारले सुशासनलाई कडाइ पूर्वक अगाडि बढाउन खोजेको बताउनुभयो ।

कमिसन र भ्रष्टाचारको जालोले देशलाई जर्जर बनाएको उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले अनियमितता गर्ने व्यक्तिमाथिको कारबाही प्रक्रिया कुनै पनि हालतमा नरोकिने दृढता व्यक्त गर्नुभयो ।

मुलुक र जनतालाई ठगी गर्ने, धोका दिने, अपराध गर्नेलाई वर्तमान सरकारले कुनै पनि हालतमा नछाड्ने विश्वास दिलाउँदै उहाँले अपराध गर्नेलाई कानुनको दायरमा ल्याइ छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सुशासन कायम गर्दै मुलुकलाई सुशासनको मार्गमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुहुँदै उहाँले विभिन्न कारणबाट बिदेसिएका नेपालीलाई स्वदेश फर्काउने वातावरण निर्माण गरिने बताउनुभयो । विकास र समृद्धिको लक्ष्य पूरा गर्नका निम्ति आफ्नै बलबुतामा काम गर्नुपर्नेमा जोड दिनुहुँदै उपप्रधान मन्त्री श्रेष्ठले समृद्धिका लागि विदेशी मित्रको सहयोगको अपेक्षा गरेको बताउनुभयो । आफूले चीन भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्तामा नेपालको समृद्धिका बारेमा छलफल गरेको जानकारी दिनुभयो ।

राजनीतिक परिवर्तनसँगै जनताको जीवनस्तर पनि परिवर्तन हुनुपर्नेमा त्यसो हुन नसकेको स्वीकार गर्नुहुँदै उहाँले जनताको जीवनस्तर बदल्ने गरी मुलुकलाई समृद्ध बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

वर्तमान सरकार मुख्य चार वटा कार्यभार पूरा गर्न लागिपरेको उल्लेख गर्नुहुँदै उहाँले सार्वभौमिकताको रक्षा, राष्ट्रिय सुरक्षालाई सुदृढ, परिवर्तनको रक्षा र शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

महावाणिज्यदूत दिनेशकुमार घिमिरेले महावाणिज्य दूतावासले लगानी, पर्यटन, व्यापार तथा निर्यात प्रवर्द्धन एवं कन्सुलर सेवा लगायत नेपाल र नेपाली जनताको सर्वोत्तम हितका कार्य गर्दै आएको बताउनुभयो ।

त्यस अवसरमा उपप्रधानमन्त्रीले अध्ययन तथा विभिन्न पेशा व्यवसायका सिलसिलामा छेन्दुमा रहेका नेपालीसँग अन्तरक्रिया गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button