अब कोही पनि भूमि अधिकारबाट वञ्चित हुनुपर्दैन : मन्त्री श्रेष्ठ
नेपालगञ्ज । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने गरी काम भइरहेको बताउनुभएको छ । मन्त्री श्रेष्ठले मुक्त हलिया, कम्लहरी र कमैयाहरूको समस्या समाधान गर्नका लागि पनि आफू लागिपरेको बताउनुभयो । उहाँले अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने दाबी गर्नुभयो ।

बाँकेको नरैनापुर गाउँपालिकाको गाउँ ब्लकमा रहेका भूमिहीनहरूलाई आज जग्गाधनी प्रमाणपुर्जा वितरण गर्दै उहाँले भूमिहीनका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो । मन्त्री श्रेष्ठले नरैनापुरमा रहेका गाउँ ब्लकका थप ४ सय नागरिकहरूलाई पनि केही महिनाभित्रै जग्गा वितरण गरिसक्ने बताउनुभयो ।
नरैनापुर गाउँपालिकाको वडा नं ४ स्थित गाउँ ब्लकमा रहेका ७७ घरपरिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको नापी कार्यालय बाँकेका नापी अधिकृत मिरा न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा बाँके क्षेत्र नम्बर १ का सांसद सूर्य ढकाल, प्रदेश सांसद कृष्णा केसी नमुना, नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह लगायत उपस्थित हुनुहुन्थ्यो ।







प्रतिक्रिया राख्नुहोस्