मनोसामाजिक परामर्शले फेरिएको जीवन
नेपालगञ्ज । नेपालगञ्जकी राधा क्षेत्री (नाम परिवर्तन), उनलाई मर्न मात्रै मन लाग्थ्यो, छोराछोरी घरपरिवारप्रतिको मोह भङ्ग भइसकेको थियो । एक दुई पटक त उनले आत्महत्याको प्रयास पनि गरिन् । तर, परिवारका सदस्यले थाहा पाएपछि उनी गलत बाटो अख्तियार गर्नबाट बचिन् । दुनियाँ बिरानो लाग्थ्यो । कोही आफ्नो जस्तो लाग्दैनथ्यो । अँध्यारो कोठामा बस्न मात्रै मन लाग्ने, शरीर दुब्लाएर ख्याउटे भइसकेको थियो, कसैसँग बोल्न मन लाग्दैनथ्यो, कोही बोल्न खोज्यो भने झर्को लाग्थ्यो ।
जब राधाले चार बर्ष अघि ३५/३६ वर्षकै उमेरमा श्रीमान् गुमाइन् अनि त्यो असह्य पीडाले उनलाई थिच्यो । शोकलाई सहन नसक्दा किरियामै बसेको बेला उनमा डिप्रेसन देखिन थालिसकेको थियो । बिस्तारै बिस्तारै समस्या बढ्दै गयो अनि उनलाई यो दुनियाँ बिरानो लाग्न थाल्यो । नेपाली सेनाबाट निवृत्त उनका श्रीमान् त्यसपछि वैदेशिक रोजगारीका लागि कतार गए । तर, २ बर्ष कतार बसेर उताबाट फर्किएपछि उनको दुःखद निधन भयो । उनीहरूको सुन्दर संसार उजाडिएपछि राधामा डिप्रेसनले बास गर्न सुरु गर्यो । उनले नेपालगञ्जमा चेकजाँच गराइन् । तर, बीसको उन्नाइस भएन । पछि चिकित्सककै सल्लाहमा राधा लखनउ पुगिन् । त्यति बेलासम्म उनको दिमागमा घाउ बनिसकेको थियो । उनले औषधि सेवन गर्न थालिन् ।
यही सिलसिलामा कतैबाट यो कुरा थाहा पाएर सामी कार्यक्रम अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाकी मनोसामाजिक परामर्शकर्ता पूजा भण्डारी राधा कहाँ पुगिन् । भण्डारीसँग उनको भेट भएर जब मनोसामाजिक परामर्श पाउन थालिन्, बिस्तारै उनको धारणा परिवर्तन हुन थाल्यो । राधाकै शब्दमा कोही भगवान् आएर आफूलाई बचाउन खोजेजस्तो अनुभूति उनलाई भयो । मन शान्त हुन थाल्यो । छोराछोरी घरपरिवारको माया लाग्न थाल्यो । बाँच्न मन लाग्न थाल्यो अनि भण्डारीको निरन्तर परामर्शपछि राधा पहिलेकै अवस्थामा फर्किइन् । अढाई वर्षदेखि लगातार खाँदै आएका औषधि खान छोडेको पनि अहिले चार महिना भइसक्यो ।
अहिले उनलाई समाजसँग घुलमिल हुन मन लाग्छ । मान्छेसँग बोल्दा झर्को लाग्दैन । उचित मनोसामाजिक परामर्शले आफू पूर्ववत् अवस्थामा फर्किसकेको राधा बताउँछिन् । ४० बर्षीया उनका दुई सन्तान छन् । सानै उमेरमा विवाह गरेको बताउने राधाका एक २७ बर्षीय छोरा छन् । उनी कतारमा छन् । २२ बर्षीया छोरी अमेरिका छिन् ।
वैदेशिक रोजगारीसँग सम्बन्धित मनोसामाजिक समस्या भोगिरहेकाहरूको जीवनमा बदलाव ल्याउन पनि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले मनोसामाजिक परामर्श सेवा दिँदै आएको नेपालगञ्ज उपमहानगरपालिकाकी मनोसामाजिक परामर्शकर्ता पूजा भण्डारीले बताइन् । उनले आत्महत्याको प्रयास गरेकाहरूलाई मनोसामाजिक परामर्श दिएर बचाएको समेत बताइन् । सामीले यस बर्ष ६४ जनालाई मनोसामाजिक परामर्श सेवा दिएको जनाएको छ । नेपालगञ्जमा १५, कोहलपुरमा १९, खजुरामा २५ र बैजनाथमा ५ जनालाई मनोसामाजिक परामर्श सेवा दिइएको सामीका कार्यक्रम संयोजक कमलसिंह नेपालीले बताए ।








प्रतिक्रिया राख्नुहोस्