तपाईँ सुन्दै हुनुहुन्छः

कृषि यान्त्रीकरणतर्फ आकर्षित गर्न किसानलाई खेतमै तालिम

वीरगञ्ज । किसानलाई कृषिमा यान्त्रीकरणतर्फ उत्प्रेरित गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको वीरगन्ज कार्यालयले उन्नत प्रविधि तथा कृषि यान्त्रीकरण सम्बन्धी तालिम दिएको छ ।

आइतबारबाट सुरु भएको ३ दिने तालिम आज सम्पन्न भएको छ । तालिममा प्रशिक्षार्थी किसानहरूलाई कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगन्जमा धान खेतीमा प्रयोग हुने कृषि उपकरणबाट स्थलगत जानकारी गराइयो ।

खेतमै पुगेर व्यवहारिक ज्ञान सहितको तालिम पाएपछि किसान उत्साहित भएका छन् ।

किसानलाई हिलोमा छरुवा धान रोप्ने ड्रक सिडर प्रविधि, चार पाङग्रे ट्याक्टरबाट चलाइने सुख्खामा छरुवा धान खेती प्रविधि जिरो टिलेज सिड कम फर्टिलाइजर ड्रिल मेसिन, न्यूनतम जोताई प्रविधिबाट धान रोप्ने पावर टिलरबाट चल्ने चाइनिज सिडकम फर्टिलाइजर ड्रिल मेसिन र राइस ट्रान्सप्लान्टर प्रविधिको लागि बेर्ना तयार गर्ने प्रविधिबारे स्थलगत तालिम दिइएको थियो ।

साथै केन्द्रले हालसम्म विकास तथा सिफारिस गरेका कृषि यन्त्रबारे पनि किसानलाई अवगत गराइएको थियो । कृषि औजार अनुसन्धान केन्द्रका प्रमुख इन्जिनियर सचिनकुमार मिश्राले कृषि श्रमिकको बढ्दो अभाव र खेतीयोग्य जग्गाको उत्पादकत्व घट्दै गएको सन्दर्भमा कृषिमा यान्त्रीकरणको विकल्प नरहेको बताउनुभयो ।

किसानले धान खेतीमा अझै पनि परम्परागत तरिका नै अपनाइरहेकाले उनीहरूलाई किसानमैत्री प्रविधि तथा यान्त्रीकरणतर्फ आकर्षित गराउन तालिमको आयोजना गरिएको मिश्राले बताउनुभयो ।

तालिममा सूचीकृत कृषक सहकारी संस्थामा आबद्ध २१ किसान र ५ प्राविधिकहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button