तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा नदी तथा खानीजन्य पदार्थको उत्खनन बन्द गर्ने निर्णय कडाइका साथ लागू गरिने

पोखरा । कास्की जिल्लामा नदी तथा खानीजन्य पदार्थको उत्खनन कार्य बन्द  गर्ने निर्णय गरिएको छ । 

नदी तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति अध्यक्ष एवम् जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा   सम्पन्न समितिको बैठकले सो निर्णय गरेको हो । 

बैठकबाट नदीजन्य पदार्थ उत्खनन सम्बन्धि सङ्घीय मापदण्ड  पहिलो संशोधन  २०७९ को दफा ४ को १६ नम्बर बुँदा बमोजिम आषाढ देखि भाद्र मसान्तसम्म सबै किसिमको उत्खनन कार्य बन्द गर्नुपर्ने उल्लेख भए अनुसार सो कार्य कडाइका साथ लागू गर्न जिल्ला प्रशासन कार्यालय र सबै स्थानीय तहहरूलाई पत्राचार  गर्ने निर्णय गरिएको छ ।

साथै सम्पूर्ण पालिकाहरूलाई नदीजन्य पदार्थको मौज्दात प्रमाणित गराइ सो को जानकारी सात दिन भित्र जिल्ला अनुगमन समितिलाई उपलब्ध गराउन आग्रह गरिएको छ ।

सात दिन भित्र मौज्दात विवरण उपलब्ध नगराएको पाइएमा बिक्री वितरण गर्न नपाउने कार्यलाई कडाइका साथ लागू गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताउनुभयो ।

निर्णय कार्यान्वयन भए नभएको कडाइका साथ अनुगमन हुने भन्दै  कास्कीका कतिपय स्थानमा उल्लेखित मापदण्ड विपरीत उत्खनन जारी रहेको पाइएको हुँदा नियम पालना नगर्नेलाई कानुन अनुसार कारबाहीको दायरामा ल्याइने जिल्ला अनुगमन समितिका सदस्य सचिव एवम् कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button