विकासका लागि मुख्यमन्त्रीलाई विश्वासको मत दिएको एमाले सचिव भट्टराईको भनाई

जनकपुरधाम । नेकपा एमालेका सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई मधेश प्रदेशको खस्केको मानव सूचकाङ्कमा सुधार गर्न र जनताको पक्षमा काम गर्नका लागि विश्वासको मत दिएको बताउनुभएको छ ।
पार्टीका सचिव भट्टराईले प्रेस चौतारी धनुषाले आज जनकपुरधाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै मधेशको समृद्धि र विकासको अभियानमा मुख्यमन्त्रीलाई विश्वासको मत दिनु परेको स्पष्ट पार्नु भयो ।
उहाँले मधेस सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार यो प्रदेश मानवीय सूचकाङ्कमा मुलुकमा नै सबैभन्दा पछाडि परेकाले यस ठाउँमा विकास आवश्यक भएको बताउनुभयो ।
मधेश प्रदेशका इन्चार्ज भट्टराईले मधेश प्रदेश आर्थिक, सामाजिक रुपमा पछाडि परेको प्रदेश रहेकाले यहाँ विकासमा अवरोध नेकपा एमाले बन्न नचाहेकाले विश्वासको मत मुख्यमन्त्रीलाई दिएको र यसलाई अन्यथा नबुझ्नका लागि पनि आग्रह गर्नु भयो ।
उहाँले नागरिकता समस्या समाधान गर्नका लागि फेरी नयाँ विधेयक नै ल्याउनु आवश्यकता रहेको बताउनुभयो । भट्टराईले जन्मसिद्धका नागरिकले वंशजको नागरिकता पाउनुपर्ने एमालेको स्पष्ट भएको बताउँदै वर्तमान सरकारले प्रमाणीकरण गराएको विधेयकमा आफूहरूको केही विषयमा असहमति भएको बताउनुभयो ।
उहाँले नागरिकता समस्या समाधान संविधानबाटै हुनु पर्ने बताउँदै नागरिकताले प्रादेशिक पहिचान खुल्नु पर्ने धारणा राख्दै वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि केही समयावधि तोक्नै पर्ने पक्षमा आफूहरू भएको बताउनुभयो ।
प्रेस चौतारी धनुषाका अध्यक्ष अवधेश कामतको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका नेत्री तथा पूर्व मन्त्री जुली कुमारी महतो सहितका व्यक्तिहरू उपस्थित रहनु भएको थियो ।
मधेश प्रदेशको इन्चार्जको जिम्मेवारी पाउनु भएका भट्टराई पहिलो पटक मधेश प्रदेशको राजधानी जनकपुरधाम आउनु भएको हो ।







प्रतिक्रिया राख्नुहोस्