तपाईँ सुन्दै हुनुहुन्छः

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ भोलि

काठमाडौँ । संसदीय सुनुवाई समितिले भोलि बिहान ८ः०० बजे संवैधानिक परिषद्बाट प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सुनुवाइका लागि बोलाएको छ ।

समितिले आज प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेका २९ वटा उजुरीका उजुरीकर्ताहरूसँग एकल र संयुक्त रुपमा छलफल गरेको समितिको सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

समितिले ७ जना उजुरीकर्तासँग व्यक्तिगत र अन्यसँग सामूहिक रुपमा छलफल गरेको उहाँले बताउनुभयो । 

गत वैशाख २५ संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको थियो । कार्की हाल कायममुकायम प्रधानन्यायाधीश हुनुहुन्छ । 

यसैबीच, आज बिहान ११ः०० बजे उजुरीमाथिको छलफलमा बोलाइएका उजुरीकर्ताले सुनुवाइ समिति नै अवैध भएको भन्दै यसको वैधता कायम गरेर मात्र सुनुवाइ प्रक्रिया अगाडि बढाउन माग गर्नुभएको थियो । 

उजुरीकर्ताहरूले प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई समेत उपस्थित गराएर छलफल गर्नुपर्ने माग समेत गर्नुभएको थियो ।

आजको बैठकको सुरुमा ज्येष्ठ सदस्यका रुपमा सांसद पशुपति शमशेर जबराले र जबरा समितिबाट बाहिरिएपछि सांसद ज्ञानेन्द्रबहादुर कार्कीले समितिको सभापतित्व गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button