डिजिटल हस्ताक्षरको प्रयोगमा जोड दिन विज्ञहरुको आग्रह
काठमाडौँ । डिजिटल नेपाल निर्माण अभियानमा डिजिटल हस्ताक्षर महत्त्वपूर्ण रहेकाले यसको विस्तारमा जोड दिनु नै वर्तमानको आवश्यकता भएकोमा सरोकारवालाहरुले जोड दिनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको प्रमाणीकरण नियन्त्रक कार्यालयको आयोजनामा आज सिंहदरबारमा भएको विद्युतीय हस्ताक्षर तथा त्यसको प्रयोग सम्बन्धी सचेतना कार्यक्रममा सरोकारवालाहरुले विभिन्न क्षेत्रमा विद्युतीय हस्ताक्षर प्रयोगमा ल्याएर पूर्ण डिजिटिलाइजेसन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रमाणीकरण नियन्त्रकको कार्यालयका प्रमुख अनिल कुमार दत्तले डिजिटल नेपाल अभियानलाई सफल बनाउन प्रमाणीकरण नियन्त्रकको कार्यालय समय सापेक्ष कार्य योजनाका साथ अघि बढिरहेको बताउनुभयो ।

प्रमाणीकरण नियन्त्रकको कार्यालयका प्रमुख दत्तले डिजिटल हस्ताक्षरको प्रयोग क्रमशः बढ्दै गएकोमा खुशी व्यक्त गर्दै यसको विस्तारमा संघ, प्रदेश र स्थानीय तहका साथै सरोकारवाला सबै निकायलाई लाग्न पनि आग्रह गर्नुभयो ।
डिजिटिलाइजेसनमा जाँदा खर्च कटौती हुनुसँगै श्रम शक्ति समेत न्यूनीकरण हुने भएकाले यसलाई विस्तार गर्नुको विकल्प नरहेको उल्लेख गर्दै प्रमाणीकरण नियन्त्रकको कार्यालयका प्रमुख दत्तले विगतमा वार्षिक ३० लाख भन्दा बढीको पेपर प्रयोग हुने गरेको आफ्नो कार्यालयमा डिजिटल हस्ताक्षर अभ्यासमा ल्याउँदा ५ लाख रुपैयाँ बराबरको मात्र पेपर प्रयोग हुने गरेको बताउनुभयो ।
त्यस अवसरमा प्रमाणीकरण नियन्त्रक कार्यालयका इन्जिनियर सतिश सुवेदीले विद्युतीय हस्ताक्षरले प्रमाणिकता दिने भएकाले यसको उपयोग प्रभावकारी र विश्वसनीय रहेको बताउनुभयो ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका इन्जिनियर सुरज ओझाले कीर्तिपुर नगरपालिकाले डिजिटल हस्ताक्षरलाई अभ्यासमा प्रयोग गर्न सुरु गरिसकेको भन्दै यसबाट खर्च कटौती हुनुसँगै सेवा प्रवाहमा सहजता प्रदान गरेको अनुभव सुनाउनुभयो ।

कार्यक्रममा उपत्यकाका विभिन्न पालिकाका प्रतिनिधिसँगै रेडियो नेपालबाट पनि उच्च अधिकृतहरूको सहभागिता रहेको थियो ।



तस्वीर : मिलन ढुंगाना







प्रतिक्रिया राख्नुहोस्