सङ्गीतको प्रवर्द्धनका लागि विशेष सहयोग हुन्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्गीतको प्रवर्द्धनका लागि नेपाल सरकारको तर्फबाट विशेष सहयोग हुने बताउनुभएको छ ।

उहाँले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा नै गीत सङ्गीतको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको उल्लेख गर्दै यस पटक पनि ज्यापू महागुठीले उठाएको माग सम्बोधन गर्ने विश्वास दिलाउनुभयो ।
अन्तर्राष्ट्रिय सङ्गीत दिवसको अवसर पारेर ज्यापू महागुठी र काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नेपाल अकेष्ट्रा–११४३ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्रीले हरेक जसो कार्यक्रममा भाषणले नै प्रमुखता पाउने भएकाले कार्यक्रमको महत्त्व नै घट्ने गरेकातर्फ सबैको ध्यानाकर्षण गराउनुभयो ।
प्रधानमन्त्रीले अर्केष्ट्राले संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान गर्नेमा आफूले विश्वास लिएको तथा संस्कृति संरक्षणका लागि ज्यापू गुठीलगायत यस क्षेत्रमा लागेका सबैलाई सरकारले सहयोग गर्ने बताउनुभयो ।

अर्केष्ट्रामा चार सय कलाकारले एकै पटक विभिन्न बाजा बजाएका छन् ।
बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले संस्कृति, कलाको संरक्षण गरेर मात्रै मुलुकभित्र पर्यटक भित्र्याउन र त्यसलाई आर्थिक विकासमा केन्द्रित गर्न सकिने बताउनुभयो ।
काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँलाई सांस्कृतिक नगरी बनाउने सपना देखेको र त्यसलाई पूरा गर्न आफूहरूले मूर्त अमूर्त कला तथा संस्कृतिको प्रवर्द्धन गर्दै आएको बताउनुभयो ।
ज्यापू महागुठीका अध्यक्ष राजभाई जकमीः ले युवा पुस्तालाई नेपाली कला तथा संस्कृतिको महत्त्व बुझाउनका लागि यस खालको कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्