पहिचान पक्षधरसँग वार्ता गर्न कोशी प्रदेश सरकारद्वारा वार्ता टोली गठन

विराटनगर । कोशी प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्नका लागि वार्ता टोली बनाएको छ । आज (बुधबार) बसेको कोशी प्रदेश सरकार, मन्त्रीपरिषद्को बैठकले वार्ता टोली गठन गरेको हो ।
बैठकले कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री तील कुमार मेन्याङ्बोको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ता टोली सदस्यमा कोशी प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धि कुमार राजभण्डारी रहनुभएको छ ।
प्रदेशसभाबाट कोशी प्रदेश नामाङ्कनपछि नामको विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएको पहिचान पक्षधरसँग वार्ता मार्फत समस्याको समाधान खोज्ने उद्देश्यले प्रदेश सरकारले वार्ता टोली बनाएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले छ वटा महत्वपूर्ण निर्णय समेत गरेको छ ।
यता पहिचान पक्षधरहरूले भने प्रदेशको नाम ‘कोशी’ फिर्ता भएपछि मात्र वार्तामा बस्ने अडान राख्दै आएका छन् । सरकारको यस कदमप्रति प्रतिक्रिया दिँदै किरात याक्थुङ चुम्लुङका प्रदेश अध्यक्ष मधुराज केरुङले अल्पमतमा परिसकेको सरकारले बनाएको वार्ता टोलीसँग वार्ता गर्नुको औचित्य नहुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्