तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्र र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न सबैले भूमिका खेल्नुपर्छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको राजनीतिक परिवर्तनपछि प्राप्त उपलब्धि र व्यवस्थामाथि प्रहार गर्ने नियोजित षडयन्त्र भइरहेको बताउनुभएको छ । 

काठमाडौँमा आज आयोजित प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको वार्षिक साधारण सभामा सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले सत्ता सञ्चालन गर्नेहरूका गल्तीलाई आधार बनाएर व्यवस्थामाथि नै नियोजित ढङ्गबाट प्रहार गर्न खोजिएको बताउनुभयो । 

उहाँले मुलुकमा समावेशी व्यवस्थासँगै लोकतान्त्रिक  गणतन्त्र प्राप्तिपछिको उपलब्धिलाई संस्थागत गर्नु अहिलेको मुख्य जिम्मेवारी रहेको बताउनुभयो । 

मन्त्री शर्माले गणतन्त्रका उपलब्धिलाई मूल्याङ्कन नगरी पहिलेकै ठिक थियो नि भन्ने अफवाह फैलाउँदै व्यवस्थामाथि र गणतन्त्रकै नायकमाथि प्रहार गर्न खोजिएकोप्रति सजग हुनुपर्ने बताउनुभयो । 

नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश अध्यक्ष एवम् प्रदेश सांसद सरल सहयात्रीले आजका राजनीतिज्ञहरूले जनताको सेवा र निष्ठाको राजनीति गर्नुपर्ने बताउनुभयो । 

वाग्मति प्रदेश सांसद सहयात्रीले जुनसुकै पेसामा पनि निष्ठाका आधारमा ठोस नीति र स्वप्रतिबद्धताका साथ लाग्नुपर्ने बताउनुभयो । 

प्रेस सेन्टर नेपालका संस्थापक एवम् इन्चार्ज महेश्वर दाहालले सञ्चारमाध्यममा जनताका मुद्दा हैन कर्पोरेट र घरानीयाहरुको मुद्दाले मात्र ठाउँ पाइरहेको बताउनुभयो । 

इन्चार्ज दाहालले जनताको मुद्दा स्थापित गर्न साम्यवादको यात्रा नरोकिएको भन्दै आफ्नो गन्तव्य र निष्ठा बिर्सनु नहुने बताउनुभयो । 

इन्चार्ज दाहालले विज्ञापन बोर्ड ठेकेदार बनेर सञ्चारमाध्यमलाई निमोठ्न खोजेको भन्दै  यसले आफैले खारेज गरे हुने स्थितिमा पुर्‍याएको बताउनुभयो । 

प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले नकारात्मक पत्रकारिताको विकास भइरहेको भन्दै एकपक्षीय पत्रकारिताको विरुद्धमा लाग्नुपर्ने बताउनुभयो । 

अध्यक्ष सापकोटाले माओवादीको एजेन्डाबाटै मुलुकमा परिवर्तन आएपनि निरीह बन्ने अवस्था विरुद्ध सशक्त ढंगले एकत्रित हुन आग्रह गर्नुभयो । 

न्यूनतम पारिश्रमिक, समानुपातिक, लोककल्याणकारी विज्ञापनजस्ता मुद्दा प्रेस सेन्टरकै बलमा स्थापित भएको भन्दै अध्यक्ष सापकोटाले लडेर ल्याएको व्यवस्था विरुद्ध एकजुट हुन आग्रह गर्नुभयो । 

नेपाल पत्रकार महासङ्घका लेखा समिति संयोजक लेखनाथ न्यौपाने विज्ञापन बोर्डको भूमिकाले यसको औचित्य समाप्त पारेको भन्दै यसका विरुद्ध आन्दोलन उठ्न सक्ने बताउनुभयो । 

प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवम् प्रदेश प्रतिष्ठान समितिका इन्चार्ज विदुर खड्काले वर्गीय चेतका आधारमा पत्रकारले जनताका मुद्दा उठाउने आफ्नो जिम्मेवारी र दायित्व भुल्न नहुने बताउनुभयो । 

प्रेस सेन्टर नेपाल प्रदेश प्रतिष्ठान समितिका अध्यक्ष वीरेन्द्र ओलीले पत्रकारको भूमिका आवाज विहीनहरूको आवाज उठाउने भएको भन्दै सकारात्मक आलोचनासहितको पत्रकारको भूमिका निर्वाह गर्नुपर्ने स्पष्ट पार्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button