तपाईँ सुन्दै हुनुहुन्छः

विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको सहकार्यमा आयोजित ‘इलेक्ट्रिक मोबिलिटी आगामी नीति तथा बजेटका लागि सुझाव’ कार्यक्रममा उहाँले विद्युतीय सवारीका लागि नीतिगत र पूर्वाधारमा सुधार गरिने बताउनुभयो ।

उहाँले विद्युतीय सवारीसाधन र इमोबिलिटीलाई प्राथमिकतामा राखेर सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट बनाउने उल्लेख गर्नुभयो । “मैले यहाँ चार्जिङ स्टेशनको पूर्वाधार पनि बन्दै गरेको सुनेँ”, उहाँले भन्नुभयो, “विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार बनाउने विषयमा सरकार गम्भीर छ ।”

नेपाल आयल निगमका उपनिर्देशक मनोजकुमार ठाकुरले पेट्रोल पम्पमा चार्जिङ स्टेशन राख्न नेपाल विद्युत् प्राधिकरणसँग समन्वयको थप आवश्यकता रहेको बताउनुभयो । “पेट्रोलपम्पमा चार्जिङ स्टेशन राख्न मापदण्ड बनाउनु पर्छ”, उहाँले भन्नुभयो, “चार्जिङ स्टेशन राख्दा निगमले के सहयोग गर्नुपर्छ त्यसका लागि तयार छ ।”

नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर सागर ज्ञवालीले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न स्पष्ट नीतिगत व्यवस्था नभए पनि भन्सार दर कम गर्न सकेमा मात्र पनि विद्युतीय सवारीको बजार बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

आन्तरिक राजस्व विभागका निर्देशक राजु प्याकुरेलले विद्युतीय सवारीमा बजेटले तोकेबमोजिमको कर लिइरहेको बताउनुभयो । सरकारले तोके अनुसारको कर सङ्कलन गरिरहे पनि विद्युतीय सवारीमा लाग्दै आइरहेको करको दर घटाउनु देशको अर्थतन्त्र र वातावरणलाई समेत फाइदा हुनेमा विभाग जानकार रहेको उहाँको भनाइ थियो ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले ‘इमोबिलिटी’ अबको भविष्य भएकाले सरकारले यो विषयमा स्पष्ट नीति लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा व्यवसायीले नेपालमा बढ्दै गएको विद्युतीय सवारीलाई प्रवर्द्धन र विकास गर्न सरकारले स्थिर नीति लिनुपर्नेमा जोड दिएको थिए । विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिन नीतिगत स्थिरता हुनुपर्नेमा उनीहरूको जोड थियो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button