तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले साइबर सुरक्षालाई प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको छ : मन्त्री शर्मा 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षालाई पछिल्लो समय सरकारले प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको बताउनुभएको छ । 

सरकारी एकीकृत डाटा केन्द्र तथा डिजास्टर रिकभरी केन्द्रबाट प्रवाह हुने सेवा सम्बन्धमा गठित उच्चस्तरीय समितिको प्रतिवेदन आज मन्त्रालयमा बुझ्दै मन्त्री शर्माले साइबर सुरक्षाको विषयलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने गरी अगाडी बढ्न लागेको बताउनुभयो ।

मन्त्री शर्माले सरकारी तथा आर्थिक प्रणालीलगायत समग्र क्षेत्र विद्युतीय सेवामा विस्तार हँुदै गइरहेको अवस्थामा साइवर सुरक्षा राष्ट्रियताको सुरक्षासँग जोडिएको विषय भएकाले यसमा सरकारले ध्यान केन्द्रित गरेको बताउनुभयो । 

मन्त्री शर्माले साइवर सुरक्षाका लागि कानुनी र संरचनागत विषयसँगै, प्राविधिक दक्ष जनशक्ति सरकारी सेवामा प्रवेश गराउने र उनीहरुलाई टिकाइराख्ने विषय महत्वपूर्ण भएको पनि बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले सबै सेवाहरू विद्युतीय भइरहेको अवस्थामा यसको सुरक्षाका विषयमा विशेष ध्यान दिनु आवश्यक रहेको औँल्याउँदै साइवर सुरक्षाका लागि प्रतिवेदनमा आएका विषयलाई योजना बनाएर कार्यान्वयनमा लैजाने बताउनुभयो ।

सरकारी एकीकृत डाटा केन्द्र तथा डिजास्टर रिकभरी केन्द्रबाट प्रवाह हुने सेवा सम्बन्धमा गठित उच्चस्तरीय समितिका संयोजक जुद्धबहादुर गुरुङले प्रविधिको प्रयोगमा देखिएका नीतिगत तथा प्राविधिक समस्या समाधानका लागि भइरहेका प्रयास र कमी कमजोरी आउन नदिन प्रतिवेदनमा सुझाव समेटिएको बताउनुभयो ।

प्रतिवेदनमा सरकारी डाटा केन्द्र सञ्चालन मापदण्ड, नीतिगत व्यवस्था, संरचनागत व्यवस्था, प्रशासकीय संरचनाको अवस्था, डाटा सेन्टरमा अपनाउनु पर्ने विधि पद्धति, पूर्वाधारको विकास, समस्याको दीर्घकालीन समाधान लगायतका विषय समेत समेटिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button