सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
काठमाडौँ । अन्तिम सुनुवाइका लागि आज पेशी तोकिएको क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनवाइ स्थगित भएको छ ।
नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीपका कानुन व्यवसायीले मुद्दाको सुनुवाई स्थगित गर्न निवेदन दिएपछि सुनुवाई स्थगित भएको हो ।
क्रिकेटर सन्दीप विरुद्धको मुद्दामा अन्तिम सुनुवाई गर्न काठमाडौँ जिल्ला अदालतले न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेशी तोकेको थियो ।
सर्वोच्च अदालतले गत फागुन १५ गते फास्ट ट्याकबाट सन्दीप विरुद्धको मुद्दा किनारा लगाउन दिएको आदेशअनुसार सो मुद्दामा अन्तिम सुनुवाइ गर्न आजका लागि पेशी तोकिएको थियो ।
राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका सन्दीपविरुद्ध भदौ २१ गते जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी परेको थियो ।
प्रहरीमा जाहेरी दर्ता हुँदा क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज रहेका सन्दीप असोज २० गते नेपाल फर्किँदै गर्दा विमानस्थलबाटै पक्राउ गरिएको थियो ।
काठमाडौँ जिल्ला अदालतले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध उच्चमा पुनरावेदन दिएका सन्दीपको मुद्दामा उच्चले विदेश जान नपाउने, काठमाडौँ उपत्यका छाड्न परे प्रहरीलाई खबर गर्नुपर्ने लगायतको सर्त राखेर पुस १८ गते २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो ।
उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने र सन्दीप लामिछानेले क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित फागुन १२ गते सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
दुवै पक्षको निवेदनमाथि एकसाथ सुनुवाई गरी सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जान अनुमति दिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्