राष्ट्रिय जलवायु दिवसको तयारी पुरा
मेलम्ची । सिन्धुपालचोकको मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरेको गुफाडाँडामा यस बर्ष मनाउन लागिएको राष्ट्रिय जलवायु दिवसको तयारी पुरा भएको छ ।
गत साल पौष १५ देखि १७ सम्म राष्ट्रिय जलवायु सम्मेलन भएको मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे सिन्धुपाल्चोकको गुफाडाँडामा
यस बर्ष दिवस मनाउन लागिएको हो ।
त्यस अवसरलाई स्थायित्व गर्न र उक्त ठाँउको प्रचारको लागि पुन यस वर्ष शुक्रबार जलवायु दिवसका अवसरमा गुफाडाँडामा विविध कार्यक्रम गर्न लागिएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले बताउनुभयो ।
हरेक बर्ष यस ठाउँमा जलवायु परिवर्तनको प्रभाव र असरको बारेमा छलफल हुने गरि सिङ्गो मुलुककै ध्यान आकृष्ट गराउनका लागि जलवायु दिवस हरेक बर्ष मनाउदै जाने तामाङ्ले बताउनुभयो ।
जलवायु दिवस, शैक्षिक सम्मेलन तथा भ्रमण बर्ष २०२० मनाउने उद्देश्यले गर्न लागिएको उक्त कार्यक्रममा गत वर्षको झै ७८ वटा झण्डा फहराउने भएका छन् ।
७७ वटै जिल्लका प्रमुख तथा उपप्रमुखको उपस्थितिमा ७७ र नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले १ गरि कुल ७८ वटा झण्डोत्तलन गर्ने, पालिका स्तरिय वत्तृत्वकला गर्ने, जलवायु प्रतिमामा पुष्पगुच्छासमेत अर्पण गर्ने तथा सार्क खेलमा स्वर्ण पदक जित्ने सिन्धुपाल्चोकका सम्पुर्ण खेलाडीलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ ।
उक्त कार्यक्रम गत बर्षको झै भव्य नभएतापनि ऐतिहासिक हुने र यसको तयारीमा तीव्र रुपले लागिरहेको जिल्ला समन्वय समिति सिनधुपाल्चोककी उपप्रमुख बालकुमारी सापकोटाले बताउनुभयो ।
७७ वटै जिल्लाका प्रमुखहरुको आगमन जारी रहेको प्रमुख तामाङले जानकारी दिनुभयो । केही प्रमुख आजै आउनुभएको र आज नआउने हरु शुक्रबार उपस्थित हुने तामाङले बताउनुभयो ।
उक्त ऐतिहासिक कार्यक्रमको उद्घाटन भने नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गर्नुहुने भएको छ । गत वर्ष भने राष्ट्रपति विद्यादेवी भण्डारीले गुफाडाँडामा आई राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्