तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीका किसानहरू चैते धान रोपाइमा व्यस्त

धनगढी । कैलालीका किसानहरू चैते धान खेतीको रोपाइमा व्यस्त रहेका देखिन्छन् । किसानहरू यति वेला रोपेको चैते धान असार महिनामा भित्र्याउने गर्दछन् ।

रोपाइमा व्यस्त देखिएका किसानहरूले बर्खे धान भन्दा चैतै धानको उत्पादन बढी हुने र यो धान प्रति बिघामा ४० क्विन्टल सम्म फल्ने गरेको बताएका छन् । पहिला कहिले कही लगाउने गरिएको चैते धान सरकारी निकायबाट सेवा सुविधा पाउन थालेपछि अहिले अधिकांश किसानले चैते धान लगाउने गरेको उनीहरूको भनाई छ ।

कृषि ज्ञान केन्द्रका अनुसार भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, घोडाघोडी नगरपालिका, कैलारी गाउँपालिका स्थित डुबान क्षेत्रमा चैते धान खेती हुँदै आएको छ । ती क्षेत्रमा करिब १ हजार १ सय हेक्टर क्षेत्रफलमा चेतै धानखेती गरिन्छ । त्यसमा २ हजार ५ सय भन्दा बढी किसान परिवार संलग्न रहेका छन् । केन्द्रका प्रमुख खगेन्द्र शर्माले डुबान हुने ती क्षेत्रमा बर्खे धानवालीको सुनिश्चित नहुँदा चैते धान खेती बिस्तार कार्यक्रम लागू गरिएको बताउनु भयो । 

किसानहरूलाई चैते धान खेतीतर्फ आकर्षित गर्न विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले बर्खे धानको तुलनामा चैते धानको उत्पादन बढी हुने बताउनुभयो । सरकारी निकायबाट यसमा संलग्न किसानहरूलाई बीउवीजन, कृषि यान्त्रिकीकरण, सिचाई देखि बजारीकरणसम्म सहयोग र सहजीकरण गर्दै आएको प्रमुख शर्माको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button