तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्चद्वारा प्रधानमन्त्रीविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध दायर मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

न्यायाधीश खतिवडाको इजलासले मुद्दालाई अग्राधिकार दिँदै १५ दिनभित्र विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । 

काठमाडौँको टुँडिखेलमा २०७६ साल माघ १ आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलाई लिएर मङ्गलवार रिट दायर भएको थियो । 

सुरुमा सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेस भएको निवेदन दर्ता हुन नसक्ने भन्दै मुद्दा दर्ता नहुने निर्णय गरेको थियो । त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो । 

सोही आदेशअनुसार फागुन २३ गते कानुन व्यवसायीहरूले दाहालविरुद्ध रिट दर्ता गराउनुभएको थियो । नेकपा माओवादी केन्द्रले विस्तृत शान्ति सम्झौता अनुसार द्वन्द्वकालीन घटना नियमित अदालतमा नभई सत्य निरुपण तथा मेलमिलाप आयोगबाट निरुपण गर्नुपर्ने जनाउँदै आएको छ । 

सत्ता साझेदार दल, माओवादी धारका ८ पार्टी र कानुन व्यवसायीहरूको छाता संस्था नेपाल बार एसोसिएसनले पनि प्रधानमन्त्री दाहालविरुद्ध दायर भएको रिटको विरोध जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button