तपाईँ सुन्दै हुनुहुन्छः

रोङ गाउँपालिकाको पाटापुरलाई जलवायु अनुकूलित गाउँ बनाइने 

इलाम । दक्षिणी इलामको रोङ गाउँपालिका ६ को पाटापुर गाउँलाई जलवायु अनुकूलित नमूना गाउँ निमार्णको लागि तयारी गरिएको छ ।  

भारतसँगको सीमावर्ती मेची किनारमा रहेको चुरे क्षेत्र पाटापुरलाई जलवायु अनुकूलित नमूना गाउँ घोषणा गर्ने अन्तिम गरिएको हो । 

स्थानीय हावापानी सुहाउँदो बीउ बाली, खेती प्रणाली प्रवद्र्धन र अन्य तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । यस्तै सोलार लिफ्टीङ प्रविधिको सिँचाई आयोजना निर्माण गरिएको छ ।

चुरे क्षेत्रको पाटापुरमा सिँचाइको लागि नामसालिङ्ग सामुदायिक विकास केन्द्रमार्फत सोलार लिफ्टीङ प्रविधिको सिँचाई आयोजना उद्घाटन गरिएको छ । गाउँपालिका र  स्थानीय पहलका लागि क्यानेडियन कोषको लागत साझेदारीमा कार्यक्रम सञ्चालन भएको हो । 

नामसालिङ सामुदायिक विकास केन्द्रका टिम लिडर हिराकाजी घलेका अनुसार गाउँमा रहेको सुख्खा जमिनमा सिँचाई सुविधा उपलब्ध गराई यहाँ जलवायु अनुकूल बाली विस्तार गर्न ६० घर परिवारलाई सहयोग पुगेको छ । 

पाटापुरमा बाँदर हात्ती र बाघ जस्ता वन्यजन्तुले हानी नोक्सानी नगर्ने बाली विकासका लागि बीउ वितरण गरिएको छ । यस्तै यहाँका खेत बारीमा प्रयोग गर्न मिनी पावर टिलर, कुटानी पिसानी मील र च्यापकटर मेसिन वितरण गरिएको छ । 

गाउँमा ६ वटा लघु उद्यम सञ्चालन शुरु भएको गाउँ पालिका अध्यक्ष सुवास स्याङ्खवोले बताउनुभयो । जैविक खेती प्रवद्र्धनका लागि २० घरधुरीमा स्थानीय श्रोत र साधन प्रयोग गरी गोठ तथा खोर सुधारमा सहयोग गरिएको छ । 

बेमौसमी तरकारी खेती प्रवद्र्धनका लागि गाउँवासीलाई प्लाष्टिक टनेल वितरण गरिएको छ । 

कार्यक्रमले हावापानी सुहाउँदो खेती प्रणालीको सुरुवातका साथै कृषिमा प्रविधिको विकास भएको छ । पाटापुरमा  जलवायु अनुकूलन गाउँ योजना तर्जुमा सम्पन्न भएको संस्थाले जनाएको छ  ।

कार्यक्रमका  फिल्ड संयोजक शान्तिराम घिमिरेले नवीकरणीय ऊर्जामा आधारित संस्थागत सुधारिएको चुल्हो निर्माण गरिएको जानकारी दिनुभयो । तीन वटा संस्थागत चुल्हो निर्माण गरिएको छ । कार्यक्रम गत वर्ष सञ्चालन शुरु भई लगत्तै फेब्रुअरीमा सम्पन्न हुने बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button