तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो हिमालयन साइन्स फेस्टिभल : कोहलपुरको त्रिभुवन नमुना मावि प्रथम

नेपालगञ्ज  । विद्यार्थीहरूमा विज्ञान र प्रविधिको सम्भावना खोज्न बाँकेको नेपालगञ्जमा भएको दोस्रो हिमालयन साइन्स फेस्टिभलमा कोहलपुरको त्रिभुवन नमुना माध्यमिक विद्यालय प्रथम भएको छ । 

नेपालगञ्जको धम्बोझी माध्यमिक विद्यालय दोस्रो र कोहलपुरको बिभीएम सेकेन्डरी स्कुलका विद्यार्थीले बनाएको प्रोजेक्ट तेस्रो भयो ।

फेस्टिवलमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः ३० हजार, २५ हजार र २० हजार रुपैयाँ प्राप्त गरे । फेस्टिभलमा गोरखा युनाइटेड कोहलपुर, खजुराको ज्ञानोदय नमुना माध्यमिक विद्यालय, नेपालगञ्ज टेक्निकल कलेज र नेपालगञ्जको युनाइटेड एजुकेशनल एकेडेमीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।

सान्त्वना स्वरूप पुरस्कार पाएका विद्यालयलाई जनही ६ हजारका दरले रकम प्रदान गरिएको थियो । विद्यार्थीहरूले गरेका नयाँ खोजलाई प्रोत्साहन गर्दै सम्पन्न फेस्टिबलले नेपालमा विज्ञान र प्रविधिको विकासका बारेमा नयाँ बहसको सुरुवात गरेको छ । 

साइन्स फेस्टिभलको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गर्नुभएको थियो ।

आयोजक हिमालयन साइन्स फाउन्डेसनका अध्यक्ष एवम् फेस्टिबल संयोजक आतङ्क बस्नेतले उत्साहजनक रुपमा फेस्टिभलको दोस्रो संस्करण सकिएको बताउनुभयो । 

समापन समारोहका प्रमुख अतिथि कोहलपुर नगरपालिका नगर प्रमुख पूर्णप्रसाद आचार्यले हिमालयन साइन्स फेस्टिबल विद्यार्थीको खोज र अनुसन्धानलाई प्रोत्साहन गर्ने एउटा उत्कृष्ट कार्यक्रम भएको बताउनुभयो ।

फेस्टिभलमा विश्वको प्रख्यात ब्रान्ड अमेरिकन कम्पनी एप्पलका पूर्व सफ्टवेयर आर्किटेक्ट विजय गौतम र नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट)का वरिष्ठ वैज्ञानिक डा.टिस्टा प्रसाईँ जोशीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

फेस्टिभलमा विद्यालय स्तरका विद्यार्थीले आविष्कार गरेका विभिन्न ३५ प्रोजेक्ट प्रदर्शनीमा राखिएको थियो । कक्षा ८ देखि १२ सम्मका सरकारी र निजी विद्यालयका विद्यार्थीले आविष्कार गरेका विज्ञान र प्रविधिका ‘फोटो टाइप’ प्रोजेक्टहरू प्रदर्शनीमा राखिएको थियो । फेस्टिभलमा विभिन्न ९ विधामा विद्यार्थीले प्रोजेक्टहरू प्रदर्शनीमा राखेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button