कर्णालीमा रेडियो नेपालको क्षमता विस्तार गरिने
सुर्खेत । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले कर्णाली प्रदेशमा रहेका रेडियो नेपालका एफएम ट्रान्समिटरको स्तरोन्नतिसँगै कार्यक्रमको विविधीकरण गर्न लागिएको बताउनुभएको छ ।

रेडियो नेपाल सुर्खेत प्रादेशिक प्रसारण केन्द्रको निरीक्षण तथा अनुगमन गर्नुहुँदै उहाँले रेडियो नेपाललाई समय सापेक्ष सुधार गर्दै नागरिकका भावना तथा अपेक्षा अनुरूपका कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले रेडियो नेपालको क्षमता विस्तारका लागि पश्चिम रुकुमको जन्ती बस्ने लेकमा एफएम ट्रान्समिटर स्थापनासँगै सुर्खेतको वीरेन्द्रनगरमा १ हजार र हर्रेमा २ हजार वाटको एफएम ट्रान्समिटर राख्न लागिएको जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक केसीका अनुसार साबिक कर्णालीका पाँचै जिल्लामा रहेका रेडियो नेपालका एफएम ट्रान्समिटरलाई आधुनिक प्रविधिको प्रयोग गरेर थप स्तरोन्नति गर्न लागिएको छ ।
उहाँले सुर्खेत प्रादेशिक प्रसारण केन्द्रबाट प्रदेश तथा स्थानीय सरकारहरूसँग सहकार्य गरी आवश्यकतामा आधारित रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गरिने बताउनुभयो. ।

कार्यकारी निर्देशक केसीसँगै नायब कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेल, निर्देशक पुष्करराज गौतम, मुख्य कार्यक्रम अधिकृत गोकर्ण रेग्मीलाई सुर्खेत प्रादेशिक प्रसारण केन्द्रका प्रमुख आन्नदविश्व पन्तले समसामयिक विषयका गतिविधि तथा भावी योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्