कृष्णनगरमा प्रथम राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिता सुरु
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा नगरपालिकाका सामुदायिक तथा निजी विद्यालयहरूबिच विभिन्न खेलकुदका विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उद्घाटन गर्दै निवर्तमान प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले खेलकुदले विद्यार्थीहरूमा अनुशासनको पालनासँगै आपसी सद्भाव कायम गराउने बताउनुभयो । खेलकुदले नगरको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सहयोग गर्ने भएकाले नगरले शिक्षासँगै खेलकुदलाई पनि प्राथमिकता दिनुपर्ने शाहले बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख रजत प्रताप शाहले पहिलो पटक सुरुवात गरिएको रनिङ शिल्ड र मेयर कपको तयारीमा केही कमी भए पनि आगामी दिनमा यसको सिकाइबाट व्यवस्थित बनाउँदै लगिने र विद्यालयमा पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूलाई सहभागी गराउन खेलकुदलाई विशेष प्राथमिकता दिइने बताउनुभयो ।

कृष्णनगर बहादुर गन्जमा रहेको रामगोरखा माध्यमिक विद्यालयको खेल मैदानमा आजबाट सुरु भएको प्रतियोगितामा नगरका १४ वटा विद्यालयहरूको सहभागिता रहेको आयोजक कृष्णनगर नगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्