कर्णाली प्रदेश सभामुख गुरुङद्वारा शपथ ग्रहण
सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभाको सभामुखमा नन्दा गुरुङलाई शपथ ग्रहण गराउनुभएको छ ।
प्रदेश प्रमुख परियारले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमबिच सभामुख गुरुङलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । शपथ ग्रहण समारोहमा प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, मन्त्री तथा सरकारी उच्च पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

सभामुख गुरुङले आजै प्रदेशसभा सचिवालयमा आफ्नो पदभार ग्रहण गर्नुभएको छ । यसअघि आजै कर्णाली प्रदेशको सभामुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले) की गुरुङ निर्वाचित हुनुभएको थियो । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले सभामुखमा गुरुङलाई बहुमतले निर्वाचित गरेको हो ।

४० सदस्यीय प्रदेशसभाको बैठकमा उपस्थित ३८ सदस्यमध्ये गुरुङको पक्षमा २४ जनाले मतदान गर्नुभयो भने सभामुख पदका अर्का उम्मेदवार नेपाली काँग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गर्नुभएको थियो । प्रदेशसभा हलभित्रै रहेका स्वतन्त्र सांसद देवेन्द्र शाहीले भने कसैलाई पनि मत दिनुभएन ।
मतपरिणाम अनुसार प्रदेशसभाका ज्येष्ठ सदस्य हिक्मतबहादुर विष्टले गुरुङ विजयी भएको घोषणा गर्नुभएको थियो । नेपालका सातै प्रादेशिक सभामुखमध्ये गुरुङ पहिलो महिला सभामुख हुनुभएको छ । एमाले सुर्खेतबाट समानुपातिकमा निर्वाचित सभामुख गुरुङ यसअघि महिला मुक्ति आन्दोलनका लागि लामो समयदेखि वकालत गर्दै आउनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्