बागमती प्रदेशका ज्येष्ठ सदस्य ढुङ्गानाद्वारा शपथ ग्रहण
मकवानपुर । बागमती प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । बुधबार (आज) बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले ७२ वर्षीय ढुङ्गानालाई शपथ ग्रहण गराउनुभएको हो ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८२ को उपधारा (५) बमोजिम ज्येष्ठ सदस्य ढुङ्गानालाई प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा २४ को उपदफा (१) बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

शपथ लिनुभएका ढुङ्गानाले बिहीबार (भोलि) प्रदेश सभाका बाँकी १०९ सांसदहरूलाई शपथ ग्रहण गराउनुहुनेछ । ज्येष्ठ सदस्य ढुङ्गाना नुवाकोट २(१) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो ।
ढुङ्गानाले प्रदेश सभाका सभामुख र उपसभामुख चयन नभएसम्म प्रदेश सभा बैठकको अध्यक्षता गर्नुहुनेछ । शपथ ग्रहण कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र मन्त्रीहरूको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्