नेपाल टि–२० लिग: काठमाडौंं नाइट्स र लुम्बिनीको विजयी सुरुवात
काठमाडौंं । पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेटमा काठमाडौंं नाइट्स र लुम्बिनी अल स्टार्सले विजयी सुरुवात सुरुवात गरेका छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिवार भएको उद्घाटन खेलमा पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गर्दै काठमाडौँ नाइट्सले विजयी सुरुआत गरेको हो ।
काठमाडौँले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित १९ ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाउन सक्यो ।
पोखराका ओपनर उपुल थरंगाले सर्वाधिक ४४ रन, आरिफ शेखले २० बनाउँदा अमिर हम्जा र अभिमन्यु मिथुनले समान १८ रन बनाए ।
काठमाडौँका लागि अविनाश बोहराले ३ विकेट, बसिर अहमदले दुई र अनिल खरेलले १ विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले १९ ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।
यस्तै नेपाल टी–ट्वान्टी लिग अन्तर्गत शनिवार नै भएको दोस्रो खेलमा लुम्बिनी अल स्टारले विजयी सुरुआत गरेको छ ।
टियु क्रिकेट मैदानमा फार वेस्टर्न युनाईटेडलाई ६७ रनको फराकिलो रन अन्तरले पराजित गर्दै लुम्बिनीले जितको सुरुआत गरेको हो ।
लुम्बिनीले दिएको १ सय ५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको फार वेस्टर्नले १६ ओभर २ बलमा अलआउट हुँदै ८५ रन मात्र बनाउन सक्यो ।
फार वेस्टर्नका लागि कप्तान हस्मत उल्लाह शाहिदीले सर्वाधिक ३५ रन जोड पनि अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहेन ।
उसका लागि विनोद भण्डारीले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् ।
फार वेस्टर्नलाई सस्तैमा समेट्न लुम्बिनीका दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । सागर ढकालले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रनको योगफल तयार पारेको थियो ।
लुम्बिनीका लाहिरु मिलान्थाले ६० रन, कप्तान दीपेन्द्र सिंह ऐरी ३५ तथा गुलसन झाले २५ रनको योगदान गरे ।
फार वेस्टर्नका लागि उमर अलि र करन केसीले समान ३/३ विकेट लिए ।
प्रतियोगितामा काठमाडौँ नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किङ्ग्स र लुम्बिनी अल स्टार गरी ६ टोलीको सहभागिता छ ।
लिगको विजेताले ५५ लाख, उपविजेताले ३० लाख, तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपैयाँ पुरस्कार पाउने रुपैयाँ पुरस्कार पाउने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।
त्यस्तै, प्लेयर अफ द सिरिजले ५ लाख तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार रुपैयाँ पाउने छन् ।








प्रतिक्रिया राख्नुहोस्