उदयपुर र खोटाङ जोडिने फोक्सिनटार पुल सञ्चालनमा
उदयपुर । उदयपुर र खोटाङ जोडिने सगरमाथा लोकमार्गको फोक्सिन्टार स्थित सुनकोसी नदीमा यातायात सञ्चालन भएको छ ।
नवनिर्मित पुलमा बिहीबारदेखि यातायात सञ्चालनमा आएको हो । ठेक्का लागेको झण्डै दशबर्षपछि पुलमा यातायात सञ्चालन भएको हो । वारिपारि सडक भएपनि पुल नहुँदा सर्वसाधारणलाई यात्रा कष्टकर बनेको थियो । पुलबाट यातायात सञ्चालन भएसँगै उक्त स्थानबाट उदयपुर र खोटाङ जोडिएको छ ।
उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे जोड्ने पुलको ठेक्का २०६९ चैत्र २३ गते लागेको थियो ।
पुलको बेरिङको, एप्रोज रोड लगायतका काम भने नसकी नै पुल सञ्चालनमा आएको हो । जनताको दबाबका कारण पुलको कामै नसकी यातायात सञ्चालन गरिएको पुल सेक्टर नम्बर–१ धरानका योजना प्रमुख प्रदीप भण्डारीले बताए ।
पुल सञ्चालन गर्न खोटेहाङ गाउँपालिका अध्यक्ष उदीमबहादुर राई, उपाध्यक्ष रुपेश राई लगायतको उपस्थिति थियो । काममा ढिलासुस्ती भएपछि जनताको माग बमोजिम पुलमा यातायात सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।
करिब १९ करोड ६० लाख रुपैयाँको लागतमा गौरी पार्वती वाईपी जेभीले २०७५ चैतमा सक्ने गरी ठेक्का लिएको थियो । अबको एक महिनाभित्रमा काम सक्ने निर्माण कम्पनीले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्