भारतीय नागरिकले कुटपिट गर्दा एक व्यापारीको मृत्यु
धनगढी । कैलालीमा भारतीय नागरिकले कुटपिट गर्दा एक जना व्यापारीको मृत्यु भएको छ । कुटपिटबाट बर्दगोरिया गाउँपालिका १ कट्टीपुरका लालबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंसिर २४ गते गाडी पार्किङका विषयमा विवाद हुँदा भारतीय नागरिकले बोहरालाई निर्घात कुटपिट गरेको बताइएको छ । उनीहरूले गाडी बोहराको पसल नजिक पार्किङ गरेपछि विवाद भएको थियो । कुटपिटबाट घाइते बोहराको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा हिजोराती मृत्यु भएको प्रहरीको भनाई छ ।
घटनापछि भारतीय नागरिक फरार रहेको र घटनाको जिम्मा लिएका बर्दगोरिया गाउँपालिका ४ का सुरेन्द्र डगौरा थारु र श्रवण चौधरीलाई पक्राउ गरिएको डिएसपी बेदप्रकाश जोशीले बताउनुभयो ।
यसैबिच बोहराको मृत्युपछि स्थानीयवासीले घटनामा संलग्न भारतीय नागरिकलाई पक्राउको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरूले दोषीमाथि कारबाही माग गर्दै पूर्वपश्चिम राजमार्गको मुडा-बौनिया सडकखण्ड अवरुद्ध गरेपछि दर्जनौँ सवारीका साधन बिचमै रोकिएका छन् । अवरुद्ध राजमार्ग खुलाउन सहमतिको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्