तपाईँ सुन्दै हुनुहुन्छः

झापामा निर्वाचनको तयारी पूरा

आज कर्मचारी, सुरक्षाकर्मी र सामग्रीहरु मतदान केन्द्रमा पठाइँदै

भद्रपुर, झापा । झापामा निर्वाचनको तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । 

जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद नेपालले झापामा ९५ प्रतिशतभन्दा बढी तयारी पूरा भएको जानकारी दिनुभयो ।

उहाँले  मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुग्न मात्रै बाँकी रहेको बताउनुभयो । 

मङ्सिर १ गते साँझ ५ बजेसम्म तोकिएको केन्द्रहरूमा पुगिसक्ने गरि व्यवस्था मिलाइएको र त्यसै अनुसार सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा पुगी कर्मचारीले सामग्री बुझ्न थालेको उहाँले बताउनुभयो । 

अनुसूची फारम, मतपत्र, मतपेटिका लगायत सबै सामग्रीहरु प्याकेजिङ गरेर निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको र सोहीअनुसार वितरण भइरहेको पनि उहाँले जानकारी दिनुभयो । 

निर्वाचनमा खटिएका कर्मचारीहरू आज बिहानैदेखि सामग्री बुझ्न सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

जिल्लाका ७ सय ६८ मतदान केन्द्रका लागि सामग्री अलग–अलग प्याकेजिङ गरिएको छ । यसअघिका निर्वाचनमा जिल्लाबाटै केन्द्रहरूमा सामग्री वितरण गरिन्थ्यो भने यो निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयहरूबाट केन्द्रहरूलाई सामग्री प्रदान गरिँदै छ ।

जिल्ला निर्वाचन कार्यालय झापाले मतदाता शिक्षालाई जिल्लाभर प्रभावकारी ढङ्गबाट सञ्चालन गरेको थियो । 

जिल्लाका १३१ वडामा मतदाता शिक्षा कार्यकर्ता नियुक्त गरेर प्रत्येक मतदाताको घरदैलो, टोलसम्म पुगेर मतदाता शिक्षा प्रदान गरेको नेपालले बताउनुभयो । 

यस्तै, १५ स्थानीय तहले लक्षित क्षेत्र तोकेर नमूना मतदान कार्यक्रम सञ्चालन गर्दै मतदाता शिक्षालाई थप प्रभावकारी बनाएको उहाँको भनाइ छ ।

झापामा ६ लाख ६३ हजार ३ सय ११ मतदाताले मतदान गर्न पाउने छन् । सो सङ्ख्यामा महिला पुरुष बाहेक ८ जना अन्य रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । 

गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन् । सबैभन्दा धेरै मतदाता क्षेत्र नं ५ मा छन् भने सबैभन्दा कम मतदाता क्षेत्र नं १ मा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button