निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व हो : प्रधानमन्त्री देउवा
काठमाडौं ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताउनुभएको छ ।
उहाँले आज एक भिडियो सन्देश जारी गर्दै मुलुक निर्वाचनको अन्तिम चरणमा रहेको र लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा भएको उल्लेख गर्नुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु हामी सबैको दायित्व हो । जाहाँनिया राणा शासनविरुद्धको आन्दोलनदेखि अहिलेसम्म मुलुकले राजनीतिक सङ्घर्षको चरण पूरा गरिसकेको छ । अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने छ ।”
कांग्रेस मुलुकमा भएका हरेक राजनीतिक सामाजिक आन्दोलनको नेतृत्व गरेको पार्टी भएको उल्लेख गर्दै उहाँले अब मुलुकलाई समृद्धितर्फ अघि बढाउनु काँग्रेसको जिम्मेवारी भएको बताउनुभएको छ । विसं २०४६ पछि मुलुकले आर्थिक र सामाजिक विकासमा एक बाटो लिएको भए पनि अझै धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभएको छ ।
“हाम्रा युवा प्रविधि र ज्ञानमा उत्कृष्टता हासिल गर्दै छन् । उनीहरूको ज्ञानको कदर हुने गरी आगामी दिनमा हामी नयाँ सोचका साथ अघि बढेन छौँ । हाम्रा शासन प्रणालीलाई आधुनिक बनाउँदै सरकारी सेवालाई चुस्त दुरुस्त पार्ने परिपाटीको विकास गर्नेछौँ”, प्रधानमन्त्री देउवाले भन्नुभएको छ ।
सीमान्तकृत समुदायको अधिकार प्राप्तिदेखि पिछडिएको समुदाय र क्षेत्रको उत्थानमा काँग्रेसको सरकारले धेरै महत्त्वपूर्ण काम गरेको बताउँदै उहाँले यसलाई अझै परिणाम देखिने गरी अघि बढाइने उल्लेख गर्नुभएको छ । निर्वाचनमा जनताको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्गचित्र तय गर्ने उहाँको भनाई छ ।
उहाँले दुई दुई पटक संसद् विघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएको कुरा सबैमा जगजाहेर नै रहेको उल्लेख गर्दै सहमति र सहकार्यको जगमा गठबन्धनको सरकार गठन भएको र त्यही सूत्रका आधारमा मुलुकलाई अघि बढाउन आफूहरू दृढ सङ्कल्प रहेको जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्री देउवाले यही मङ्सिर ४ गते निर्वाचनमा उत्साहपूर्वक सहभागी भई प्रत्यक्षतर्फ कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारको चुनाव चिह्नमा र समानुपातिकतर्फ काँग्रेसको रुख चिह्नमा अमूल्य मतदान गर्न सबै मतदातालाई आग्रह गर्नुभएको छ ।
उहाँले आफूहरू कुरा होइन काम गर्छौँ भन्नेमा विश्वास दिलाउँदै मतदानलाई लोकतन्त्रको उत्सवका रुपमा लिन सबैलाई हार्दिक अपिल गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्