‘लोकतन्त्रको विकासका लागि सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका’
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको विकास र सुदृढीकरणका लागि स्वतन्त्र र निष्पक्ष सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।
नेपाल प्रेस युनियनले दीपावली तथा छठ पर्वका अवसरमा आज काठमाडौँमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रता विना लोकतन्त्रको कल्पना गर्न नसकिने बताउनुभयो ।
सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि गठबन्धन दलहरू पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री देउवाले आवधिक निर्वाचनले जनतालाई राज्य शक्तिको केन्द्रमा पुर्याउने उल्लेख गर्नुहुँदै लोकतन्त्र र विधिको शासनप्रति प्रतिबद्ध जनप्रतिनिधि छनौट गर्ने कुरामा आम मतदातालाई प्रेस जगतले आवश्यक सहयोग गर्नुपर्ने पनि बताउनुभयो ।
कोरोना र डेंगुको महामारीका कारण देशको आर्थिक विकासले गति लिन नसकेको बताउनुहुँदै प्रधानमन्त्री देउवाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनपछि देश आर्थिक विकास र समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले सुशासन, स्थिरता र संविधानको रक्षाका लागि सत्तारुढ दलहरूको गठबन्धन बनेको बताउनुभयो ।
प्रवक्ता महतले निर्वाचनको स्वच्छता र स्वतन्त्रतालाई प्रभावित गर्ने गरी सामाजिक सञ्जालमा भ्रामक समाचार तथा सूचनाहरू आउने गरेको उल्लेख गर्नुहुँदै मूल धारका सञ्चार माध्यमहरूले आफ्नो भूमिका बढाउन र भ्रमपूर्ण समाचारको प्रभावलाई चिर्न ध्यान केन्द्रित गर्नुपर्ने पनि बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष हरिहर विरही, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी लगायतले नागरिकका हक र अधिकार रक्षाका लागि प्रेस स्वतन्त्रता अनिवार्य रहेकोमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्