तपाईँ सुन्दै हुनुहुन्छः

गठबन्धनप्रति शङ्का नगर्न प्रधानमन्त्रीको आग्रह

विराटनगर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनप्रति शङ्का उपशङ्का नगर्न आग्रह गर्नुभएको छ ।

विराटनगरमा आज आयोजित लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त भेलामा उहाँले समावेशी संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धन जनता र मुलुकको हितका लागि भएको प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री देउवाले नेपाली काँग्रेस र नेकपा माओवादीबिच भएको विस्तृत शान्ति सम्झौता र १२ बुँदे सम्झौताका कारण मुलुकमा स्थायी शान्ति तथा गणतन्त्र स्थापना भएको स्मरण गर्दै वर्तमान गठबन्धन त्यसैको निरन्तरता भएको बताउनुभयो ।

उहाँले नेपाली काँग्रेस पार्टीभित्र कुनै विवाद नरहेको र अहिले पार्टी एकताबद्ध भएर अघि बढिरहेको उल्लेख गर्दै मङ्सिर ४ गते हुने निर्वाचनलाई सफल बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाँले विराटनगर बिपी र गिरिजा प्रसाद कोइरालाको भूमि भएकाले यस क्षेत्रका जनताप्रति आफ्नो सदैव सम्मान रहने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सहभागी दलका नेताहरूबिच केही समस्या भए तिनलाई थाती राखेर एकताबद्ध भई निर्वाचनको महासङ्ग्राममा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

उहाँले मुलुकमा युगान्तकारी राजनीतिक परिवर्तन भए पनि जनताको आर्थिक अवस्था भने परिवर्तन हुन नसकेकाले अब राष्ट्र र जनताको हितका लागि काम गर्नुपर्ने बेला आएको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सत्ता प्राप्तिका लागि नभई मुलुकको सम्वृद्धिका लागि भएको बताउनुभयो ।

उहाँले गठबन्धनको महत्त्वबारे जनतालाई बुझाउन सक्नुपर्ने भन्दै गठबन्धनमा आबद्ध दलहरूले जारी गरेको घोषणापत्र लिएर घरदैलोमा जान गठबन्धन दलका नेता, कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेकाले यसलाई उल्टाउने सपना अब कसैले नदेखे हुन्छ भन्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइराला र कृष्ण प्रसाद सिटौला, नेपाली काँग्रेस प्रदेश १ का सभापति उद्धव थापा तथा नेकपा एकीकृत समाजवादी प्रदेश १ का अध्यक्ष बलदेव चौधरीले गठबन्धनको आवश्यकता र औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button