डस्टी कार्गो आईसिपी सार्ने निर्णय तत्कालका लागि स्थगित
वीरगञ्ज । भारतीय भन्सारले रक्सौलको–मितेरी पुल हुँदै वीरगञ्ज भित्रिने डस्टी कार्गोको व्यवस्थापन एकीकृत जाँच चौकी आईसीपीबाट गर्ने निर्णय तत्कालका लागि स्थगित गरेपछि वीरगञ्जका व्यवसायीहरूलाई राहत भएको छ ।

भारतीय भन्सारले आजबाट रक्सौलको मितेरी पुल हुँदै वीरगञ्ज भित्रिने डस्टी कार्गोको आयात निर्यात आईसिपीमा सार्ने सूचना जारी गरेपछि आयातकर्ताहरू प्रभावित भइरहेको अवस्थामा भारतको विदेश मन्त्रालयको उत्तरी विभागले शुक्रवार सूचना निकालेर पुरानो नाकाबाट आयात निर्यात पूर्ण रूपमा बन्द गर्ने निर्णय तत्कालका लागि स्थगित गरिएको जानकारी दिएपछि व्यवसायीहरूलाई राहत भएको हो ।
विभागले अघिल्लो सूचना जनवरी १ तारिखसम्म कार्यान्वयन नहुने बताएको छ । तर, आयातकर्तामा जनवरी १ पछि के हुने भन्ने अन्योल कायमै छ । नेपाल सरकारको आग्रहमा उक्त आयात निर्यात स्थानान्तरणको निर्णय डेढ महिनाका लागि स्थगन गरिएको भारतले जनाएको छ ।
नेपाल सरकारले काठमाडौँस्थित भारतीय दूतावासमार्फत आग्रह गरेको थियो । वीरगञ्जका व्यापारीले सम्पूर्ण डस्टी कार्गो आईसीपीमा सार्न आवश्यक पूर्वाधार तयार भई नसकेको भन्दै सरकारलाई पहलका निम्ति आग्रह गरेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताले बताउनुभयो ।
यसअघि पनि भारतको रक्सौल भन्सारले गत जुलाई १ बाटै डस्टी कार्गो आईसीपीबाट भित्र्याउन सूचना निकालेको थियो ।
रक्सौल रेलवे र आईसीपीबीचको साँघुरो सडकको कारण डस्टी कार्गो भित्र्याउन समस्या रहेको व्यवसायीहरूले बताएका छन् । सो सडक साँघुरो भएको कारण दैनिक ३ देखि ४ सय ट्रक आवागमन हुन नसक्ने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ताले बताउनुभयो ।
भारतले पनि आफ्नो सूचनामा पूर्वाधार तयार नभएकाले तत्कालका लागि निर्णय स्थगन गरिएको उल्लेख गरेको छ ।
आईसीपी पूर्ण सञ्चालनमा आइसकेको भन्दै भारतीय पक्षले वीरगञ्ज–रक्सौल नाकाको सम्पूर्ण आयात निर्यात आईसीपीबाटै गर्न दबाब दिँदै आएको छ ।
आईसीपी सञ्चालनको ४ वर्ष बितिसक्दा पनि कोइला, आइरन ओर, स्ल्यागजस्ता डस्टी कार्गो र केही परिमाणमा आइरन बिलेट, आइरन रोललगायत औद्योगिक कच्चा पदार्थ पुरानै रक्सौल–मितेरी पुल–वीरगञ्ज भएर भित्रिने गरेको छ । नुन र मलखाद पनि रक्सौलमै अनलोड भएर भित्र्याउने गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्