तपाईँ सुन्दै हुनुहुन्छः

‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’ सुरु

ललितपुर I राजधानीमा आजबाट दुई दिने ‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’ सुरु भएको छ । ११औँ संस्करणमा अन्तर्राष्ट्रियता नेपालमा पहिलो पटक आयोजना भएको महोत्सवमा नेपाल र भारतका प्रसिद्ध साहित्यकारहरूको सहभागिता रहेको छ । महोत्सवको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले कलिङ्गका युद्ध विजेता सम्राट् अशोक हुँदै पछिल्ला पुस्ताका स्रष्टाहरूले दुई देशको सभ्यतालाई जोडन गरेको योगदानको विषयमा चर्चा गर्नुभयो । “भारतको सरस्वती नदीले बनाएको सभ्यता लोप भए पनि नेपालमा बागमती सभ्यता अझै कायम छ । बाराको गढीमाईसहित नेपालका विभिन्न स्थानसँग भारतको संस्कृतिको सम्बन्ध छ । दुई देशको साहित्यिक सम्बन्ध अझ बढाउने विश्वास छ”,उपकुलपति गुरुङले बताउनुभयो । महोत्सवमा सहभागी हुन भारतबाट आउनुभएका कवि अशोक वाजपेयीले नयाँ प्रविधिसँगै बजार शक्ति, धर्म शक्ति आदिले साहित्य संस्कृतिमा पुर्याइरहेको  क्षतिको चर्चा गर्नुभयो । “ठूलो जमातले बोल्ने भाषाले साना भाषालाई अतिक्रमण गरिरहेको छ । साहित्यले समाजलाई धेरै कुरा सिकाउने भएकाले सृजनामा निरन्तरता दिन स्रष्टालाई अनुरोध छ”, कवि वाजपेयीले भन्नुभयो । महोत्सव निर्देशक रञ्जना निरौलाले नेपाल भारतको साहित्य तथा संस्कृति आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । संस्थापक अध्यक्ष रश्मीरञ्जन परिताले संस्कृतबाट आएको नेपाली र हिन्दी भाषालाई संरक्षण गर्नको लागि यस पटकबाट नेपालमा साहित्यकारहरुलाई एकै थलोमा ल्याएर दुई देशको संस्कृति, भाषा र साहित्यबारे बहसको थालनी गरेको बताउनुभयो । समारोहमा यस वर्षबाट सुरु भएको यशस्वी साहित्य सम्मानबाट नेपालबाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र भारतबाट कवि अशोक वाजपेयीलाई जनही रु. ५० हजार सहित सम्मान गरिएको छ । शताब्दी पुरुष जोशी अस्वस्थताको कारण समारोहमा उपस्थित हुन सक्नुभएन । यशस्वी प्रज्ञा प्रतिष्ठान, हिमालयन डायरी प्रालि, राष्ट्रिय साहित्य प्रतिष्ठान र नेपाल कलिङ लिटरेचर फेस्टिभलको सहकार्यमा महोत्सवमा कथाकार माया ठकुरी, अग्रज पत्रकार कनकमणि दिक्षित र कवि दिनेश अधिकारी सहित दुई सयको सहभागी रहेको आयोजकले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button