तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षाको सुधारका लागि सरकारले लगानी बढाउनुपर्नेमा जोड

काठमाडौँ । मधेस प्रदेशमा सार्वजनिक शिक्षाको सुधारका लागि सरकारले लगानी बढाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिनुभएको छ । 

मधेस प्रदेशको ‘शिक्षा र बालश्रम’ विषयमा सिकाइ आदानप्रदानका लागि शिक्षा पत्रकार समाज र आसमान नेपालले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले मधेसका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सरकारले लगानी बढाउने गरी कार्यक्रम तयार गरेको बताउनुभयो ।  

सङ्घीय शिक्षा ऐन जारी हुने क्रममा रहेकाले उक्त ऐन जारी भएपछि  शिक्षक दरबन्दी व्यवस्थापनलगायतका सवालहरू सम्बोधन हुने बताउनुभयो । 

सचिव सुवेदीले सरकार स्रोत साधनले भ्याएसम्म खुल्ला र सकारात्मक सोचका लागि शिक्षामा सुधारका लागि प्रयत्नशील रहेको र यसमा सम्बन्धित सबै पक्षको उत्तिकै सहयोग आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा भारतस्थित एमभी फाउण्डेशनका आर बैँकट रेड्डीले भारतमा बालश्रम अन्त्यका लागि भएका प्रयास र उपलब्धिबारे अवगत गराउँदै विद्यालय बाहिर रहेका बालबालिका बाल श्रमिक हुने भएकाले यस भाष्यलाई विश्वभर फैलाउन आवश्यक रहेको बताउनुभयो । 

त्यसैगरी शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले सरकारका निकाय र शिक्षकहरू इमान्दार नभएसम्म शिक्षा शिक्षामा सुधार नहुने भएकाले नागरिक समाज र सञ्चार क्षेत्रले निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादवले आफूहरूले ‘काम छोडाउ, स्कुल पटाऊ’, ‘निक शिक्षा दिअ’ जस्ता अभियानबाट मधेस प्रदेशमा शिक्षाको सुधारका लागि २३ वर्षदेखि काम गर्दै आएको जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button