स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न स्याङ्जामा कोसेली घर

स्याङ्जा । स्याङ्जामा कोसेली घर सञ्चालनमा ल्याइएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. १ ट्याक्सीचोकमा स्थानीय उत्पादनलाई प्रोत्साहन गरी उद्यमीलाई हौसला दिने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको हो । पुतलीबजार नगरपालिकाको समन्वयमा चन्द्रशोभा अचार उद्योगको व्यवस्थापन तथा स्याङ्जाली उद्यमी ग्रुपद्वारा स्थानीय उत्पादन विक्री केन्द्र (कोसेली घर) सञ्चालनमा ल्याइएको हो ।
घरेलु तथा विभिन्न पालिकाकामा तालिमहरू लिएर बिक्रीका लागी ठाउँ नपाउँदा आफ्ना सिप र कलाको उचित सदुपयोग गर्न नपाएर उत्पादनमा विचलित हुनुभएका उद्यमीहरूलाई हौसला दिनका लागी कोसेली घर सञ्चालनमा ल्याइएको कोसेली घरका कोषाध्यक्ष तथा घरेलु तथा साना उद्योग विकास कार्यालयका तालिम संयोजक कृष्ण लम्सालले बताउनुभयो । जिल्लाभरका उद्यमीहरूले उत्पादन गर्नुभएका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने र कोसेली घरलाई अझ फराकिलो बनाएर उद्यमीहरूलाई एकिकृत गर्ने लक्ष्य रहेका लम्सालले बताउनुभयो ।
कोसेली घरमा जिल्लाका विभिन्न पालिकामा रहेका उद्यमीहरूले उत्पादन गरेका वस्तु राखिएको छ । ‘महिला दिदिबहिनीहरुलाई हौसला दिने उद्देश्यले नगरपालिकाको आर्थिक सहयोगमा कोसेली घर सञ्चालनमा ल्याइएको हो ।’ उद्यमी ग्रुपका अध्यक्ष चन्द्रकला रानाले भन्नुभयो । कोसेली घरमा कष्टमेटिक सामानहरू क्रिष्टलका चुरापोते, चप्पलहरू, कुसन, गुडिया, घर सजावटका लागी यहीँका महिलाहरूले हातले बनाएका समानहरू छन् ।

त्यस्तै कोसेली घरमा गल्याङमा बुनिएका ढाकाका सल, कुर्ता, सारीहरू, वालिङमै उत्पादन गरिएका ढाकाका ब्याग तथा अन्य ब्यागहरू बिक्रीका लागी राखिएका छन् भने अर्ग्यानिक खाद्यात्वहरु समेत राखिएको छ । नेपालीहरूको तरकारी भनेर चिनिएको गुन्द्रुक, मस्यौरा, फापर, कोदो, मकैको पिठो, बच्चाका लागी लिटो, अनदी चामल, समेत राखिएको अध्यक्ष रानाले जानकारी दिनुभयो ।
पछिल्लो समय महिलाहरू उद्यमशीलतामा आकर्षित भइरहेका बेला यस्ता स्थानीय उत्पादन बिक्री केन्द्रले थप प्रोत्साहित हुने देखिन्छ । साढे ७ लाख लगानी लागेको कोसेली घरमा ६० प्रतिशत नगरपालिकाले सहयोग गरेको हो । गत साउनबाट सञ्चालनमा ल्याइएको कोसेली घरमा अर्ग्यानिक खाद्य वस्तुहरू समेत उपलब्ध भएपछि टाढा टाढाका भाटभटेनी धाउनुपर्ने बाध्यताको अन्त्य भएको उपभोक्ताको भनाई छ ।
पोखराका उपभोक्ताहरूले समेत स्याङ्जाका उत्पादनमा मन पराएका छन् । अहिले तिजको सिजन भएकाले क्रिष्टलको चुरा पोते, चप्पल, लगायतका सामानहरू बढी मात्रामा बिक्री भइरहेको अध्यक्ष रानाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दैनिक ३ हजारदेखि १० हजारसम्मका समानहरू बिक्री भइरहेकोमा तिजको माहौल शुरु भएपछि १० हजार भन्दा बढीको बिक्री भइरहेको छ ।’
उद्यमीहरूले आफ्ना उत्पादन विक्री गर्ने ठाउँ नपाएमा उक्त कोसेली घरमा बिक्रीका लागी समन्वय गर्न सक्नेछन् । कोसेली घरमा जिल्ला भ्रमण तथा विभिन्न कार्यक्रमका लागी आउने पाहुनालाई जिल्लाको कोसेली उपहार दिएर प्रचारप्रसार गर्ने समेत कोशली घरको योजना छ । कोशली घरका लागी ७ सदस्यीय समिति समेत बनाइएको छ । गाउँ गाउँमा बिक्री हुन नसकेका उत्पादन तथा आफ्ना उत्पादनले बजार नपाएर त्यसै थन्क्याएर राख्न बाध्य भइरहेका उद्यमीलाई यो कोसेली घरले केही सहयोग गर्ने अपेक्षा लिइएको छ ।







प्रतिक्रिया राख्नुहोस्