तपाईँ सुन्दै हुनुहुन्छः

जहाजको उडान रोकेर अभियुक्त पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जना अभियुक्तलाई पक्राउ गरेको छ । नेपाल वायुसेवा निगमको उडान नं ४०१ विमानमार्फत भारतको मुम्बई उड्न लागेका कैलालीको धनगढीका सन्तोषकुमार लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा लामिछानेलाई विमानस्थलबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सो व्यक्ति भाग्न लागेको भन्ने सूचना कैलाली प्रहरीबाट प्रहरी प्रधान कार्यालयलाई सूचना आयो । विमानस्थलबाट विमान चढिसकेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको हो । विमानस्थलबाट हिरासतमा लिएर हाल गौशाला प्रहरीमा राखिएको छ, थप अनुसन्धानका लागि कैलाली पठाउने तयारी भइरहेको छ ।”

प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोली विमानस्थलबाट अभियुक्तलाई पक्राउ गरेको हो । श्रीमान् श्रीमतीसँगै मुम्बई जान लागेको अवस्थामा पक्राउ गरिएको हो । ब्युरोको टोलीले विमानस्थल सुरक्षा प्रहरी कार्यालय र नेपाल एयरलाइन्ससँग समन्वय गरी जहाजको उडान रोकेर अभियुक्त पक्राउ गरिएको थियो । सुनचाँदी व्यवसायमा संलग्न अभियुक्त लामिछाने चोरीको घटनामा संलग्न भएको आरोप छ । अनुसन्धान चलिरहेका बेला भाग्न लागेको भन्ने खबर प्रहरीले पाएपछि निजलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । विमानमा चालक दलका सदस्यसहित १४१ सवार रहेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार दिउँसो १ बजेर १० मिनेटको उडानबाट मुम्बई उड्न लागेका अभियुक्त लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल एयरलाइन्सको उक्त जहाज दुई घण्टापछि अर्थात् दिउँसो ३ बजेर १० मिनेटमा मुम्बई उडेको छ । उडान भर्न लागेको विमान मात्रै डिले भएको अन्य उडानमा कुनै अवरोध नभएको महाप्रबन्धक ठाकुरले बताउनुभयो । विमानस्थलको सबै उडान नियमितरुपमा सञ्चालन भइरहेको पनि उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button