तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री श्रेष्ठसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट 

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । 

मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच दुई देशबीचको रहिआएको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ । 

मन्त्री श्रेष्ठले राजदूत श्रीवास्तवको कार्यकालमा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सफल हुने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल र भारतबीच सदियौँदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहिआएको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले दुवै देशबीच सहकार्यका धेरै सम्भावना रहेको बताउनुभयो । 

मन्त्री श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि नयाँ हवाई प्रवेश विन्दु उपलब्ध गराउन राजदूत श्रीवास्तवसँग प्रस्ताव गर्नुभयो । 

नयाँ हवाई प्रवेश विन्दु उपलब्ध भएमा उडान खर्च र समय घट्नुका साथै हवाई ट्राफिक जामको समस्या समाधान हुने मन्त्री श्रेष्ठको भनाइ छ । 

राजदूत श्रीवास्तवले नयाँ हवाई प्रवेश विन्दुको विषयमा छिट्टै निर्णयमा पुग्ने विश्वास दिलाउनुभयो । 

भगवान् राम र सीतासँग जोडिएका धार्मिक स्थलहरूलाई जोड्ने रामायण सर्किट सम्बन्धी पूर्वाधार निर्माण अघि बढाउनेबारे पनि उहाँहरुबीच छलफल भएको थियो । 

रामायण सर्किटले धार्मिक पर्यटनको प्रवर्द्धनमा सहयोग पुग्ने मन्त्री श्रेष्ठको भनाइ छ । 

जनकपुरको धार्मिक तथा पौराणिक महत्त्व झल्काउँदै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा समझदारी भएको बृहत्तर जनकपुर क्षेत्र विकास सम्बन्धी परियोजना अघि बढाउनेबारे पनि उहाँहरुबीच छलफल भयो । 

भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माणमा भारतीय सहयोगमा सञ्चालित परियोजनाको अवस्थाबारे पनि उहाँहरुबीच कुराकानी भएको थियो । 

मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीपछि सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानलाई प्राथमिकता दिएको बताउनुहुँदै नेपालमा भारतीय पर्यटकहरूको आगमन वृद्धिका लागि गर्नुपर्ने प्रवर्द्धनात्मक कार्यक्रमबारे पनि राजदूत श्रीवास्तवसँग छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button