प्रादेशिक प्रसारण केन्द्र धनकुटाबाट कृषि कार्यक्रम प्रसारण गर्ने सम्झौता
विराटनगर । प्रादेशिक कृषि रेडियो कार्यक्रम सञ्चालनका लागि रेडियो नेपाल, प्रादेशिक प्रसारण कार्यालय प्रदेश नं. १ र कृषि विकास निर्देशनालय प्रदेश नं. १ बीच आज सम्झौता भएको छ ।
विराटनगरस्थित कृषि निर्देशनालयमा दुवै पक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका प्रमुख उद्धव सिंह ढाटक्षेत्री, रेडियो नेपाल धनकुटाका कार्यक्रम अधिकृत नयराज नेपाल र व्यापार अधिकृत देवकला कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

त्यस्तै कृषि विकास निर्देशनालयको तर्फबाट कार्यालय प्रमुख प्रकाशकुमार डाँगी, कृषि प्रसार अधिकृत नवीन अधिकारी तथा लेखा अधिकृत दिलबहादुर तिम्सिनाले हस्ताक्षर गर्नुभएको छ ।
वार्षिक ४८ अङ्क प्रसारण हुने उक्त कार्यक्रम नेपाली, राई बान्तवा, थारु तथा लिम्बु भाषामा प्रसारण हुने सम्झौतामा उल्लेख छ । कार्यक्रम आइतबार ५ः३० बजेदेखि १५ मिनेट प्रसारण हुने छ ।
महिनाको पहिलो आइतबार नेपाली, दोस्रो आइतबार राई बान्तवा, तेस्रो आइतबार लिम्बु र चौथो आइतबार थारु भाषामा कार्यक्रम प्रसारण हुने छ । कार्यक्रममा किसानको घरदैलोमा पुगेर किसानको समस्या रिपोर्टिङ गर्ने, कृषिसम्बन्धी विभिन्न सुझावसहित कृषि विज्ञ तथा कृषकसँग वार्ता गर्ने, सफल कृषकका कथा, मौसमसम्बन्धी जानकारी लगायतका सामाग्री प्रसारण गरिने कार्यक्रम अधिकृत नयराज नेपालले बताउनुभयो ।
कार्यक्रममा कार्यालय प्रमुख डाँगीले गाउँ गाउँमा रहेका किसानलाई कृषिसम्बन्धी जानकारी गराउन कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका प्रमुख उद्धवसिंह ढाटक्षेत्रीले घरदैलोमा पुगी किसानका समस्या बुझ्ने तथा समस्या समाधानका लागि विज्ञहरुको सल्लाह र सुझाव सहितका सामाग्री प्रसारण गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्