चुरे संरक्षणको माग गर्दै जनकपुरधाममा प्रदर्शन
जनकपुरधाम । तराई मधेशको लाइफ लाइनको रुपमा रहेको चुरे तथा बुट्यान क्षेत्र संरक्षणको माग गर्दै जनकपुरधाममा चुरे अभियानीहरुले प्रदर्शन गरेका छन् ।

चुरे वनजंगल संरक्षण अभियन्ताहरूले हिजो मात्र विभिन्न निकायमा ज्ञापनपत्र बुझाएका थिए । विगतमा मधेश प्रदेश सरकारले गरेको सात बुँदाको निर्णय कार्यान्वयन नगरेको भन्दै मधेश प्रदेशको राजधानी केन्द्रित आन्दोलन थालिएको अभियानका केन्द्रीय संयोजक सुनिल कुमार यादवले जानकारी दिनुभयो ।
उहाँले सुकुम्वासीको नाउँमा गलत व्यक्तिहरूलाई चुरे तथा बुट्यान क्षेत्रको जग्गा वितरण गरेको र वास्तविक सुकुम्बासी जग्गा पाउनबाट वञ्चित भएको बताउँदै जनकपुरधामको जनक चौकमा आमरण अनसन गर्दा मधेश प्रदेश सरकारसँग भएको ७ बुँदे सहमति कार्यान्वयनको माग गर्नुभयो ।

चुरे संरक्षण अभियानी तथा सुकुम्वासीहरूले जनकपुरधामको जनक चौकमा भेला भएर नगरको विभिन्न भागको परिक्रमा गर्दै पिडारी चौकमा पुगी कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा सहभागीहरूले चुरेको संरक्षणमा तीनै तहका सरकार गम्भीर नभएको बताउँदै चुरे विनाशको असरबाट कोही अछुतो नरहने बताउनुभएको थियो ।
चुरे संरक्षण अभियानीहरुले विगत दुई वर्षदेखि चुरे संरक्षणको मागसहित विभिन्न प्रकारका दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।








प्रतिक्रिया राख्नुहोस्