तपाईँ सुन्दै हुनुहुन्छः

‘मातृभाषा पत्रकारिता दिवस’ लाई राष्ट्रिय दिवसका रुपमा मनाउन माग

काठमाडौँ । नेवा: पत्रकार राष्ट्रिय दबूले ‘मातृभाषा पत्रकारिता दिवस’ लाई राष्ट्रिय दिवसका रुपमा मनाउन माग गरेको छ ।

दबूको आयोजनामा आज भएको दोस्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलनले दश बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै भाषा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न अविलम्ब आवश्यक कानुन बनाई राष्ट्रिय रुपमा मातृभाषा पत्रकारिताको विकासका लागि वातावरण बनाउन आग्रह गरेको हो ।

विसं १९८२ (नेपाल संवत् १०४५) बुद्ध जयन्तीका दिन सुरु भएको मातृभाषाको पत्रकारिताको आगामी २०८२ सालमा सय वर्ष पूरा हुने हुनाले सो सालको शताब्दी वर्षका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय भएको छ । मातृभाषाको पत्रकारिता सुरु भएको सय वर्ष पुगेको अवसरमा पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको हुलाक टिकट प्रकाशित गर्न माग गर्दै त्यसका लागि पहल गर्ने निर्णय गरेको छ ।

मातृभाषामा पत्रकारिता गर्दै आएका पत्रकारको क्षमता विकासका लागि सरकारी तहबाट ‘धर्मादित्य मातृभाषा पत्रकारिता विकास प्रतिष्ठान’ अविलम्ब गठन गर्न सम्मेलन माग गर्दै सरकारी स्तरबाट स्थापित प्रेस काउन्सिल, नेपाल विज्ञापन बोर्ड, न्यूनतम पारिश्रमिक निर्धारण समिति लगायत सरकारी सञ्चार माध्यममा मातृभाषा पत्रकारको समेत अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था मिलाउन समेत सम्मेलन आग्रह गरेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button