डिभिजन वन कार्यालय चितवनद्वारा निःशुल्क बिरुवा वितरण सुरु
चितवन । डिभिजन वन कार्यालय चितवनले निःशुल्क बिरुवा वितरण सुरु गरेको छ ।
बढ्दै गएको सहरीकरणबाट पर्यावरण जोगाउन विगतका वर्ष जस्तै यस वर्ष पनि विभिन्न जातका बिरुवा वितरण गर्न थालिएको हो । कार्यालयले विभिन्न काठजन्य, सौन्दर्यमूलक र फलफूलका बिरुवा गरी २५० वटा बिरुवा वितरण गरिने जानकारी दिएको छ ।

कार्यालयका सहायक बन अधिकृत तथा सूचना अधिकारी बालकृष्ण खनालले यही असार १४ गतेबाट तयार भएका बिरुवा कार्यालयको नर्सरीबाट वितरण सुरु गरिएको जानकारी दिनुभयो ।
यो पटक जिल्ला वन पैदावार आपूर्ति समितिबाट १ लाख ५० हजार र सङ्घ सशर्त अनुदान कार्यक्रम मार्फत थप १ लाख बिरुवा उत्पादन गरिएको छ । यस बाहेक आँप, लिची, कागती, अनार लगायतका करिब २३ हजार बिरुवा बाहिरबाट खरिद गरी निःशुल्क वितरण गर्न थालिएको खनालले बताउनुभयो ।
प्राकृतिक वातावरणलाई सन्तुलनमा राख्न, चितवनको बढ्दो सहरीकरणमा हरियाली थप्न, सहरी सौन्दर्यता बढाउन, पर्यावरण जोगाउन, जैविक विविधताको संरक्षणमा समेत टेवा पुर्याउने बिरुवा वितरणको उद्देश्य रहेको खनालको भनाइ छ ।
यसैगरी वनहरूमा हुने क्षयीकरण जोगाउन, नाङ्गा डाँडा हरियाली बनाउने अभियानका साथै उपभोक्तालाई उपयोगी हुने घाँस प्रजातिदेखि फलफूल तथा ठूला काठजन्य बिरुवा वितरण गर्दै आएको कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्