‘‘महिला पहिला’ अभियानसहित हिंसा विरुद्ध अघि बढ्ने मन्त्रालयको तयारी’
चितवन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले लैङ्गिक हिंसालाई कम गर्दै महिलाको समग्र विकासका लागि मन्त्रालयले ‘महिला पहिला’ भन्ने नारासहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ ।

मन्त्रालयले चितवनमा आयोजना गरेको महिला उद्यमशीलता विकास प्रशिक्षण कार्यक्रमको समापन सत्रमा मन्त्री रेग्मीले ९५ प्रतिशतभन्दा बढी हिंसा घरभित्र हुने गरेको बताउनुभयो । उहाँले हिंसा विरुद्धको अभियानमा पुरुषलाई पनि समावेश गराउन मन्त्रालयले अभियान सुरुआत गर्न लागेको बताउनुभयो । घरेलु हिंसा विरुद्धको अभियानका साथै महिलाको नेतृत्व क्षमताको विकास गर्नु आवश्यक भएको उहाँको भनाइ छ ।
महिलाहरूको उद्यमशीलता प्रवर्द्धनका लागि मन्त्रालयले विभिन्न किसिमका सीप विकास तथा बजारीकरण सम्बन्धी तालिम सञ्चालन गरेको उहाँले स्पष्ट पार्नुभयो ।
यही असार ३ गतेदेखि १० दिनसम्म सञ्चालन भएको तालिममा भरतपुर र रत्ननगरका गरी २० जना उद्यमी महिलाहरूको सहभागिता थियो । मन्त्रालयका महिला विकास अधिकृत रमा पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा सरोज अधिकारी, शान्ति दाहाल र रत्ना घिमिरेले प्रशिक्षण दिनुभएको थियो ।
रासस







प्रतिक्रिया राख्नुहोस्