पोखराको नीति तथा कार्यक्रम: सौन्दर्यीकरणदेखि पूर्वाधार विकास
गण्डकी । पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा पोखराको सौन्दर्यीकरणदेखि पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । महानगरपालिकाको ११ औँ नगर सभामा प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्षमा पोखराको समग्र विकासका लागि लगानी सम्मेलनदेखि पूर्वाधार विकासका विभिन्न योजना अघि सारिएको बताउनुभयो ।
पोखराको विकासका लागि सामूहिक प्रयास आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । आर्थिक तथा मानवीय विकासका परिसूचक समेत विषम रहेको बताउँदै उहाँले आगामी दिनमा यिनै सूचकलाई उच्च बिन्दुमा पुर्याउन केन्द्रित गरी स्रोत र साधनको बाँडफाँट गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सुशासन र विकास प्रक्रियामा स्थानीय सरकारप्रति नागरिकले विश्वास गर्ने आधारशिला तयार गर्नुपर्ने बताउँदै प्रमुख आचार्यले जनमुखी सेवा प्रदान गर्ने र विकासलाई द्रुत रुपमा अगाडि बढाउन आगामी पाँच वर्ष लागिपर्ने विश्वास व्यक्त गर्नुभयो ।
पर्यटन, भौतिक पूर्वाधार, सहरी विकास, कृषि, शिक्षा, स्वास्थ्य रोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा झण्डै ४० वर्षअघि जग्गा छुट्याएर पनि बन्न नसकेको बसपार्क बनाउने उल्लेख गरिएको छ । ‘कृषि उत्पादनमा वृद्धि: महानगरको समृद्धि’ अवधारणाअनुसार कृषि क्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गरिने प्रमुख आचार्यले बताउनुभयो ।
समग्र पोखराको आयात परिमाणको अध्ययन गरी पाँच वर्षभित्र कम्तीमा दूध, फलफूल, तरकारी, माछा मासुको आयात प्रतिस्थापनमा जोड दिइने उहाँले बताउनुभयो ।
महानगरमा रोजगारका लागि सहजीकरण, समन्वय, सञ्जालीकरण, नवप्रवर्तन र अनलाइन रोजगार बजार, स्वरोजगार, उद्यमशीलता बढाउन मानव संसाधन विकास केन्द्रका रुपमा रोजगार बैङ्क स्थापना गरिने प्रमुख आचार्यले बताउनुभयो ।
महानगरले सहकारी संस्थालाई व्यावसायिक कृषि पर्यटन उत्पादन क्षेत्रमा आफ्नो पुँजी तथा लगानी परिचालन गर्न सहजीकरण गर्ने र महानगर, सहकारी र समुदायको सहकार्यमा स्थानीय कच्चापदार्थमा आधारित उद्योग व्यवसायमा लगानी विस्तार गर्ने नीति लिएको छ ।
‘पर्यटकीय गतिविधिमा वृद्धि, पोखरा सहरको समृद्धि’ भन्ने अवधारणालाई साकार पार्न पोखराका पर्यटन पूर्वाधार, प्राकृतिक सम्पदाको संरक्षण, मुख्य सहर र ताल तलैयाको सौन्दर्यीकरण, सरसफाइ, सहरी सुरक्षा र आतिथ्यता जस्ता क्षेत्रमा नेपाल सरकार तथा प्रदेश सरकारसँगको समन्वयमा लगानी केन्द्रित गर्ने महानगरपालिकाको नीति छ ।
पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न नेपाल सरकार समक्ष अनुरोध गरी पठाइसकिएको बताउँदै उहाँले पर्यटकको बसाइलाई अरू लामो बनाउने उद्देश्यले पोखराको विभिन्न पर्यटकीय गतिविधिको विकासद्वारा पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने नीति लिइने बताउनुभयो ।
महानगरसहित कास्की जिल्ला नै पूर्ण साक्षर जिल्ला घोषणा गरिसकिएका सन्दर्भमा महानगरभित्र शिक्षाको अधिकारबाट बालबालिका तथा लक्षित वर्गका गरिब महिला, दलित, अल्पसङ्ख्यक कोही पनि वञ्चित हुन नपरोस् भन्ने हेतुले गुणस्तरीय र निःशुल्क सार्वजनिक शिक्षाको व्यवस्थापन गरिने महानगर प्रमुख आचार्यले बताउनुभयो ।
सामुदायिक विद्यालयको विद्यालय प्रशासनलाई चुस्त एवं नतिजामुखी बनाई सञ्चालन गर्न सामयिक रुपमा प्रतिस्पर्धी र योग्य प्रधानाध्यापक नियुक्ति प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो ।
‘स्वास्थ्य र सार्थक जीवनशैलीका लागि खुला व्यायामशाला’ अवधारणा अन्तर्गत चालु वर्षमा केही स्थानमा खुला व्यायामशाला निर्माण भएको बताउँदै उहाँले आगामी वर्ष स्वास्थ्यका लागि व्यायाम कार्यक्रमअन्तर्गत ‘एक टोल एक खुला क्षेत्र एक व्यायामशाला’ निर्माण कार्यक्रम क्रमशः कार्यान्वयन गरिने बताउनुभयो ।
आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्दै स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाइने बताउँदै उहाँले महानगरका ३३ वटै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना र सञ्चालन गर्ने नीति लिइने उल्लेख गर्नुभयो ।
महानगरपालिकाभित्रका प्राकृतिक, धार्मिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाको अभिलेखीकरण गरी क्रमशः संरक्षण, संवर्द्धन र सौन्दर्यीकरण गर्दै लगिने बताउँदै आचार्यले अर्घौं अर्चलेमा कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रका रुपमा विकास गरिने बताउनुभयो ।
जनकवि केशरी धर्मराज थापा, लोक गायकद्वय झलकमान गन्धर्व र अलि मिया लगायतका स्रष्टाको सम्मानमा आवश्यक नीति बनाई कार्यान्वयन गरिने उहाँले बताउनुभयो । पोखरालाई कला, संस्कृति र ऐतिहासिक सम्पदाको सहरका रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्न सिद्धार्थ चोक, रामकृष्ण टोल, गणेश टोल, भैरव टोल हुँदै विन्ध्यवासिनीसम्मको क्षेत्रलाई पोखरा सम्पदा स्थल पुरानो बजारका रुपमा प्रवर्द्धन गरिने उहाँले बताउनुभयो ।
महानगरका मुख्य सडकमा नेपाल सरकार र प्रदेश सरकारसँगको सहकार्यमा युटिलिटी कोरिडोर निर्माण गर्न अध्ययन गरिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि फेवातालसम्मको द्रुतमार्गका लागि आवश्यक सहजीकरण गरिने भनिएको छ ।
ग्रेटर पोखराको अवधारणा पत्र तयार पारी सार्वजनिक गरिने उहाँले बताउनुभयो । फेवाताल नयाँ विमानस्थल बेगनास ताल ‘फास्ट ट्र्याक’ निर्माणको सम्भाव्यता अध्ययन गरिने उहाँले बताउनुभयो ।
महानगरको सौन्दर्यीकरण र हरियाली प्रवर्द्धनका लागि एक घर एक बिरुवा एवं सडक र नदी किनारामा जलवायु अनुकूलनयुक्त वृक्षारोपण गर्ने नीति लिइने र सम्पूर्ण विद्यालय परिसरमा फलफूलका बिरुवा लगाउनुपर्ने नीति लिइने उहाँले बताउनुभयो ।
सेती कोरिडोरको संरक्षण तथा उपयोग गर्दै हरियाली प्रवर्द्धन गरिने बताउँदै उहाँले सिमसार र जलाधार क्षेत्रको संरक्षण गर्दै विशेष उपयोग गर्ने नीति लिइने बताउनुभयो । नगरका सहरी क्षेत्रका प्रमुख चोकमा खुला स्थानको व्यवस्थापन गरिने र प्रत्येक वडामा कम्तीमा एक/एक वटा शुद्ध खानेपानी सहितको सार्वजनिक शौचालय निर्माण गरिने आचार्यले बताउनुभयो ।
हालको ल्याण्डफिल्ड साइट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने अवधि अगावै अन्यत्र सार्ने निर्णय भइसकेको बताउँदै उहाँले फोहरलाई स्रोतमा नै वर्गीकरण गरी उद्यमशीलता, ऊर्जा र हरित व्यवसायसँग जोड्ने र सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणलाई अघि बढाइने उहाँले बताउनुभयो ।
पोखरा सहरको विकासको गतिसँगै छिमेकी पालिकाको विकाससँगै लैजानु आजको आवश्यकता रहेको बताउँदै उहाँले यसका लागि क्षेत्रगत नीति निर्माण गर्दा आपसी सहयोग, परामर्श, साझेदारी र समन्वय गर्दै नीति निर्माणमा एकरूपता कायम गर्न आवश्यक व्यवस्था मिलाइने उल्लेख गर्नुभयो ।
महानगरको कार्यसम्पादनको गुणस्तरका सम्बन्धमा सुझाव तथा जनगुनासो सुन्न र समाधान गर्नका लागि हेलो मेयर कार्यक्रम एक महिनाभित्र सुरु गरिने उहाँले बताउनुभयो । आगामी वर्षदेखि महानगरबाट प्रदान हुने सार्वजनिक सेवा ३६५ दिन नै प्रवाह हुने गरी व्यवस्थापन गरिने प्रमुख आचार्यले बताउनुभयो ।
महानगरको राजस्व प्रशासनको सुधारमार्फत सुदृढ र सक्षम बनाई राजस्वमा वृद्धि गर्ने नीति अङ्गीकार गरिने र आन्तरिक स्रोतको परिचालनलाई सबल बनाइने नीति तथा कार्यक्रममा भनिएको छ । भगिनी सम्बन्ध भएका सहरसँगको सम्बन्ध सुदृढ र प्रगाढ बनाउँदै प्रभावकारी समन्वय गरी साझेदारी गरिने उहाँले बताउनुभयो ।
श्रमजीवी पत्रकारको क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै पत्रकार बीमा कार्यक्रममा पत्रकार महासङ्घसँग सहकार्य गरिने आचार्यले बताउनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्