तपाईँ सुन्दै हुनुहुन्छः

चितुवाको आक्रमणबाट ज्यान गुमाएका ५ वर्षीय बालकको परिवारलाई राहत

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले चितुवाको आक्रमणबाट मृत्यु भएका ५ वर्षीय बालक सुप्रिम बगाले मगरको परिवारलाई राहत उपलब्ध गराएको छ । 

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बुधवार मृतकका बुबा प्रेम बगाले मगरलाई ५० हजार हस्तान्तरण गर्नुभएको थियो ।

चितुवाको आक्रमणबाट मङ्गलवार बन्दीपुर गाउँपालिका–१ बोडिस्वाँरामा बालकको ज्यान गएको थियो । उनको शव घर नजिकको जङ्गलमा फेला परेको थियो । 

गत आइतबार पनि बन्दीपुर गाउँपालिका वडा नं ४ मा एक बालिका र बन्दिपुर–१ मा एक पुरुष चितुवाको आक्रमणबाट घाइते भएका थिए ।

यस्तै, डिभिजन वन कार्यालय तनहुँले काज किरिया बापत मृतकका परिवारलाई रु ५० हजार सहयोग गरेको छ । बाँकी ९ लाख ५० हजार छिट्टै प्रदान गर्ने कार्यालयले जनाएको छ ।

चितुवाको आक्रमणबाट मृत्यु हुनेको परिवारलाई सरकारले डिभिजन वन कार्यालय मार्फत १० लाख राहत दिने व्यवस्था रहेको छ । 

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले चितुवाको आक्रमण बढेपछि बन्दीपुरका सामुदायिक वनमा पासो (फलामे खोर) थापिएको बताउनुभयो । 

तनहुँमा हालसम्म १२ बालबालिकाको चितुवाको आक्रमणबाट ज्यान गइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button