मकवानपुर गोल्डकपः वर्षाका कारण बुधवारको खेल स्थगित
मकवानपुर । हेटौँडामा जारी चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप अन्तर्गत बुधवारको खेल स्थगित भएको छ ।
बुधवार हुने भनिएको मकवानपुरको एफसी विजय यूथ र बाराको नव जनजागृति युवा क्लबबिचको खेल वर्षाका कारण खेलमैदान जलमग्न भएपछि स्थगित गरिएको हो ।

आयोजक मकवानपुर जिल्ला फुटबल संघका अनुसार आजको खेल भोलि बिहीबार बिहान ८ः३० बजे हुने छ । प्रतियोगिताका संयोजक प्रताप विष्टका अनुसार, बिहीबारका लागि निर्धारित खेल भने तालिकाअनुसार नै दिउँसोको ३ बजेदेखि हुनेछ । यसअघि गत शनिबार पनि वर्षाकै कारण एपीएफ क्लब र फ्रेण्ड्स क्लबबिचको खेल प्रभावित भएको थियो ।
मकवानपुरका स्थानीय तहहरूको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगिताको विजेताले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक, विद्यागत उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार रुपैयाँ प्राप्त हुनेछ ।
१२ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आगामी ३० गते हुने छ ।







प्रतिक्रिया राख्नुहोस्