तपाईँ सुन्दै हुनुहुन्छः

झापासहित पूर्वका चार जिल्लामा खाना पकाउने ग्यास अभाव

भद्रपुर, झापा – केही दिनदेखि झापासहित पूर्वका चार जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । भारतबाट नेपाल भित्रिने एलपी ग्यासका ट्यांकर आवश्यक मात्रामा भित्रिन छाडेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा ग्यासको अभाव देखिएको हो ।

ग्यास पाउन उपभोक्ताले एक साताजति पखर्नुपर्ने अवस्था आएको भद्रपुर–६ का उपभोक्ता बलिन्द्र बरुवालले बताउनुभयो । बजारमा एलपी ग्यासको अभाव भएपछि सर्वसाधारण उपभोक्ता र होटलहरु समस्या परेका छन् ।

भारतको पश्चिम बंगालस्थित कोलकताका ग्यास प्लान्टहरुले प्लान्ट सफाइ भइरहेको भन्दै केही दिनदेखि नेपाली ट्यांकरलाई ग्यास भर्न नदिँदा बजारमा एलपी ग्यासको अभाव भएको उद्योगी आदित्य पराजुलीले बताउनुभयो । उहाँले ग्यास प्लान्टमा सरसफाइ भइरहेकोले विगत १० दिनदेखि आफ्नो पराजुली ग्यास उद्योगमा न्यून मात्रामा ग्यास आएको जानकारी दिनुभयो ।

झापामा कोलकताको हल्दिया, बरुनी र पारदीप प्लान्टबाट खाना पकाउने ग्यास भित्रिने गरेको छ । पूर्वी पहाडी जिल्लालाईसमेत ग्यास आपूर्ति गर्दै आएका झापामा पराजुली, मेची, कनकाई र पाथिभरा ग्यास उद्योग सञ्चालनमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button