महानगरमा मोडिएको मतदाताको मन

काठमाडौँ । देशकै पुरानो र ठूलो काठमाडौँ महानगरपालिकामा ठूला राजनीतिक दलहरूलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजय भई कार्यभार ग्रहण गरिसक्नुभएको छ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँको मतगणना कार्य पनि भोलिपल्टैदेखि सुरु भयो । प्रारम्भिक चरणदेखि युवा एवं स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै थियो । त्यसलाई निरन्तरता दिँदै मतगणनाको १३ दिनपछि साह नगरप्रमुख बन्नुभयो ।
अहिलेको निर्वाचन नेपालको संविधान २०७२ जारी भएपछिको दोस्रो हो । नेपालको सबैभन्दा पुरानो र ठूलो महानरमा पहिलो पटक स्वतन्त्र उम्मेदवार युवा बालेन्द्र साहलाई विजय हुनु मतादाताले खोजेको नयाँपन मात्र नभई पटक–पटक ठूला राजनीतिक दलका जनप्रतिनिधिले जनताको सपनालाई पूरा गर्न नसक्नुको परिणामका रुपमा पनि लिन थालिएको छ ।
साहको प्रतिबद्धता पत्रमा नागरिकको दैनिकीभन्दा पर पुगेर मनोरेल मेट्रोरेलजस्ता तत्काल गर्न नसकिने काम छैनन्, महानगरमा फोहर व्यवस्थापन, अपुग खानेपानीको आपूर्ति, अव्यवस्थित तार व्यवस्थापन ट्राफिक जामजस्ता समस्या समाधान, शिक्षा र स्वास्थ्यमा सहजरुपमा नागरिकको पहुँचलगायतका विषयलाई आफ्नो मुख्य कामको रुपमा लिइएको छ ।
काठमाडौँ देशको सङ्घीय राजधानी हो, संस्कृतिको धरोहर हो । यहाँ फरक किसिमको राजनीतिक आस्था र विश्वास छ । आफ्नो पिता पुर्खादेखिको मतदान गर्ने संस्कारलाई परिवर्तन गरेर स्वतन्त्रतर्फ भोट केन्द्रित गर्न सक्नु पनि साहको अर्को साहस हो । मतगणना सुरुदेखिनै आम मानिसको चासोको विषय बनेको थियो, काठमाडौँमा के हुन्छ ? ‘कोर एरिया’मा प्रवेश नगर्दासम्म राजनीतिक दलबाट आफूले प्रमुखको उम्मेदवारी दिएका नेपाली काँग्रेसको तर्फबाट सिर्जना सिंह र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट केशव स्थापितको आशा जीत तर्फ नै थियो ।
जब कोर एरिया मानिने क्षेत्रको मतगणना कार्य सुरु भयो, जहाँ बालेन्द्रले आफूलाई पछि नपारी आफ्नो अग्रता कायमै राख्दै जानुभयो । यसरी साहको अग्रता कायम भइरहँदा सिंह र स्थापितले आफूले जित्ने आशा मार्दै भन्ने थाल्नुभयो, मतदाताको एकएक भोटको पनि सम्मान गछौँ ।
साह आफूलाई गत शुक्रवार मुख्य निर्वाचन कार्यालय काठमाडौँले निर्वाचित घोषणा गरे लगत्तै उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन गरिरहेको स्थान सिसडोलमा पुगेर त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिनुभएको थियो । त्यसैगरी पदभार ग्रहण गरेको दिन सोमबार पनि उहाँले कामपाको फोहर व्यवस्थापनको काम नगरी फूलमाला र खाँदा नलगाई काममै केन्द्रित हुँदै सोहीअनुरूप कार्यपालिका सदस्यलाई परिचालन गर्नुभयो ।
पहिलो दिनको निर्णय
कामपाको नवनिर्वाचित प्रमुख साहको अध्यक्षतामा सोमबार बसेको पहिलो कार्यपालिका बैठकले प्रमुख/उपप्रमुखसहित पाँच जनाको अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने सम्बन्धमा होटल रेस्टुराँ र पेट्रोल पम्पसँग पनि सहकार्य गर्ने निर्णय गरेको छ । महानगरले सहकार्य गर्ने रेस्टुराँ र पेट्रोलपम्पसँग कामपाले सङ्केत चिह्न राख्नेछ र सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्नेछन् ।
त्यस्तै सडकका खाल्डाखुल्डी पुर्न ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालनमा ल्याउने निर्णय पनि गरेको छ । तत्काल नगरवासीको गुनासो सम्बोधन गर्न कल सेन्टरको स्थापना गर्ने पनि पहिलो बैठकको उपलब्धि हो ।
सहज पानी र फोहर व्यवस्थापन नै मतदाताको आशा
नवनिर्वाचित जनप्रतिनिधिसँग मतदाताको त्यति धेरै आशा छैन । कामपा वडा नं १७ का स्थायी बासिन्दा विनोद कपालीले दैनिक जीवन सञ्चालनमा आएका समस्या जस्तै फोहर व्यवस्थापन, खानेपानीको सहज पहुँच, निर्धारित समयमा तोकिएको स्थानमा पुग्नका लागि ट्राफिक व्यवस्थापन र सम्पदा संरक्षण नै युवा जनप्रतिनिधिसँग आफ्नो माग रहेको बताउनुभयो ।
त्यसैगरी वडा नं १२ का हेमराज रेग्मीको भनाइ पनि कपालीको भन्दा फरक छैन । निरन्तर रुपमा फोहर व्यवस्थापन हुन नसकेको पनि तीन महिना भइसक्यो यसको नियमित व्यवस्थापन हुनपर्यो । वर्षको समय सुरु भएसँगै यसले थप समस्या ल्याउन सक्छ जनप्रतिनिधिले बेलैमा यसतर्फ ध्यान दिन आवश्यक छ ।
एमाले र काँग्रेसको सिट कति ?
अघिल्लो स्थानीय तह निर्वाचनमा प्रमुख पदसहित वडाध्यक्ष र सदस्यमा पनि राम्रो पकड जमाउन सफल भएको एमाले यस पटक उपप्रमुख पद जीते पनि दोस्रोमा सीमित हुनुपरेको छ । कामपामा कार्यपालिका सदस्यमा काँग्रेसको बहुमत रहेको छ । ३२ वटा वडा रहेको कामपामा काँग्रेसले १९ वडाध्यक्षसहित ७४ सदस्य जितेर पहिलो पार्टी बनेको छ भने एमाले १२ वडाध्यक्ष र ४८ सदस्य सीमित हुनुपरेको छ ।
वडा नं १५ मा नेकपा (एकीकृत समाजवादी)का को तर्फबाट यस अघि कामपाको प्रवक्तासमेत रहनुभएका ईश्वरमान डङ्गोल प्यानलसहित विजय हुनुभएको छ । विगतको निर्वाचनमा प्रमुखसहित १८ वडाध्यक्ष जीतेको एमाले यस निर्वाचनमा १२ मा सीमित हुनुपरेको छ, भने काँग्रेसले वडाध्यक्ष र सदस्यमा सङ्ख्या थपेर कार्यपालिका सदस्य सङ्ख्या बहुमत बनाएको छ ।
काँग्रेसले वडा नम्बर ६, ७, ८, ९, १०, ११, १२, १४, १६, १७, १९, २०, २४, २५, २६, २७, २८, २९, ३० मा वडा अध्यक्षसहित सदस्यमा विजयी हात पारेको छ । त्यसैगरी एमालेले कामपा वडा नम्बर १,२, ३, ४, ५, १३, १८, २१, २२, २३, ११ र ३२ वडा अध्यक्षसहित सदस्य पदमा विजयी भएको छ । रासस







प्रतिक्रिया राख्नुहोस्