तपाईँ सुन्दै हुनुहुन्छः

राजधानीवासीलाई पानीको अभाव हुन नदिने सरकारको योजना : मन्त्री चौधरी

हेलम्बु । खानेपानी मन्त्री उमाकान्त चौधरीले बिहीबार हेलम्बुमा रहेको मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार, अम्बाथानको निरीक्षण गर्नुभएको छ । वर्षाको समय सुरु हुन लागेको र विगतमा झैँ खानेपानीको संरचना क्षति नहोस् भनेर यसका लागि आफु विज्ञ, कर्मचारी सहित अनुगमनमा आएको मन्त्री चौधरीले बताउनुभयो । 

मौसम पूर्वानुमान महाशाखा, विज्ञ, कर्मचारीको सल्लाह अनुसार जुनसुकै बेला मेलम्चीको सुरुङको पानी खोलामै पठाइ गेट बन्द गरिने उहाँको भनाइ  छ । गेट नम्बर ३९, ९, १८ र अम्बाथान मुख्य अडिटमा हाइड्रोलिक गेट हालिने र यो भारतबाट केही दिनमै नेपाल आइपुग्ने उहाँले बताउनुभयो । 

बाढी पहिरोले क्षति नगरोस् भनेर अम्बाथान अडिट अगाडि तार ग्याबिन वाल लगाइने भएको छ । पानी पथान्तरण गर्ने गेट छेउको पहिरो नियन्त्रण गर्न र  त्यसको माथि जोखिममा रहेका ४ घर स्थानीय सरकार सँगको समन्वयमा सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो   । 

मन्त्री चौधरीले जल तथा मौसम पूर्वानुमान महाशाखा, विज्ञ, पानीको  बहाव हेरेर तत्काल सुरुङको गेट बन्द गरी पानी खोलामा फर्काउन निर्देशन दिँदै अहिले सुरक्षा गरेर बचाउन सके मनसुन सकिने बित्तिकै मेलम्चीको पानी फेरि काठमाडौँ लान सकिने बताउनुभयो । उहाँले मेलम्चीको ठेकदार र कन्ट्याकटरको भुक्तानी लगायत जायज माग पूरा गर्न आफू तयार रहेको बताउनुभयो  । सामाजिक उत्थानको बजेटबारे आज भोलिमा निर्णय हुने बताउनुभयो  । बजेट ह्योल्मो समिति वा सम्बन्धित पालिका मार्फत पठाउने भन्ने विषयमा विवाद रहेको छ ।

मेलम्चीको विकल्पमा बागमती नदीबाट दैनिक ५ करोड लिटर पानी थप गर्न बोलपत्र आह्वान  भइसकेको र त्यही ५ करोड लिटर भूमिगत पानीको व्यवस्था गरी राजधानीवासीलाई पानीको अभाव हुन नदिने सरकारको योजना रहेको उहाँले बताउनुभयो । त्यस्तै सिस्नेरी, ठोस्ने, महादेव खोलाबाट पानी ल्याउने विषयमा अध्ययन भइरहेको मन्त्री चौधरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button