तपाईँ सुन्दै हुनुहुन्छः

वराह क्षेत्रका नवनिर्वाचित जनप्रतिनिधिहरूद्वारा पदभार ग्रहण 

सुनसरी । वराहक्षेत्र नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिई पदभार ग्रहण गरेका छन् ।

नवनिर्वाचित जनप्रतिनिधिहरूलाई वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले शपथ ग्रहण गराएका थिए । 

सुनसरीको वराहक्षेत्र नगरपालिकाका मेयर–उपमेयरसहित वडाध्यक्षहरूले पदभार ग्रहण गरी पाँच बुँदे निर्णय सार्वजनिक गरेका छन् । 

पहिलो बैठकले वराहक्षेत्र नगरपालिकाभित्रका महिलाहरूलाई प्रसूति गराउन नगरपालिकाभन्दा बाहिर अस्पतालमा लान–ल्याउन एम्बुलेन्स खर्च बापत २ हजार ५ सय दिने निर्णय गरेको छ । 

यस्तै पालिकाका विपन्न र अति विपन्न नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन स्वास्थ्य बिमा गर्ने उल्लेख गरिएको छ । नगरपालिका भित्रका ७५ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई ३ महिनामा एक पटक अनिवार्य घरमै गएर स्वास्थ्य चेकजाँच तथा उपचार गरिने भएको छ ।

बैठकले नगरपालिकाभित्र महिला शिक्षिका प्रसूति भएमा सरकारी नियम अनुसार ९८ दिन बिदा दिने निर्णय पनि गरेका छ । त्यसरी महिला शिक्षिका बिदा बसेको बेला सट्टा शिक्षकको व्यवस्था गरिने भएको छ । 

नगरपालिकाले पहिलो बैठकबाट गरेका निर्णय कार्यान्वयन गर्न कार्यविधि बनाएर अघि बढ्ने नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।

११ वटा वडा रहेको वराहक्षेत्र नगरपालिकामा ८ वडाध्यक्ष सहित प्रमुख पद नेपाली काङ्ग्रेसले जितेको छ भने उपप्रमुख सहित ३ वडाध्यक्ष नेकपा एमालेले जितेको छ । 

वराहक्षेत्रका ५ वटा वडा क्षेत्र नम्बर १ मा पर्छन् भने ५ वटा वडा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको ४ नम्बर क्षेत्रमा पर्दछ ।

मन्त्री कार्कीले प्रतिनिधित्व गर्दै आउनुभएको सुनसरीको संसदीय क्षेत्र नम्बर ४ अन्तरगतका ४ वटा पालिकाको प्रमुख पदमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ ।

सुनसरी क्षेत्र नम्बर ४ अन्तरगत वराहक्षेत्र नगरपालिका तथा कोशी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकामा नेपाली काँग्रेसले प्रमुख पदमा विजय हासिल गरेको हो । 

यी पालिकामा प्रमुख मात्र नभई बहुमत उपप्रमुख तथा जनप्रतिनिधिहरूमा काँग्रेस लगायत सत्तारुढ गठबन्धनका दलका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button