जुम्लाका सबै पालिका प्रमुखद्वारा शपथ ग्रहण
जुम्ला । जुम्लाका नवनिर्वाचित आठ पालिका प्रमुखहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शुक्रवार एक औपचारिक समारोहबिच मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवारप्रसाद सिंहद्वारा पालिका प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नेपालको संविधान अनुसार नगरपालिकाका मेयर र गाउँपालिकाका अध्यक्षलाई मुख्य निर्वाचन अधिकृतले शपथ खुवाउने व्यवस्था अनुसार जुम्लाका आठै पालिका प्रमुखलाई शपथ खुवाइएको मुख्य निर्वाचन अधिकृत सिंहले बताउनुभयो ।
जुम्लामा निर्वाचनलाई शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन अहोरात्र खटिने तीनै सुरक्षा निकाय, सिडिओ, राजनीतिक दल तथा पत्रकारहरूलाई सिंहले धन्यवाद दिनुभयो ।
चन्दननाथ नगरपालिकाका मेयर राजु सिंह कठायत, तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाई, तिलाका अध्यक्ष मोतीलाल रोकाया, हिमाका अध्यक्ष लक्ष्मण शाही, सिञ्जाका अध्यक्ष पूर्ण प्रसाद धिताल, कनकासुन्दरीका अध्यक्ष दामोदर आचार्य, पातारासीका अध्यक्ष पूर्णसिंह बोहोरा र गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले शपथ लिएका हुन् । अध्यक्षहरूले पालिका उपाध्यक्ष तथा वडाध्यक्ष र सदस्यहरूलाई शपथ ग्रहण गराउने छन् ।
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जुम्लाका आठै स्थानीय तहमा भिन्न भिन्नै प्रकृतिका समस्या रहेको बताउनुभयो ।
जुम्लाका १०१ निर्वाचन केन्द्रमा शान्तिपूर्ण ढङ्गबाट निर्वाचन सम्पन्न भएको छ । जुम्लामा झन्डै ७६ प्रतिशत मत खसेकोमा २६ हजार महिला र २५ हजार पुरुषले मतदान गरेका छन् ।
शपथ ग्रहणपछि आठै पालिकाको प्रतिनिधित्व गरेर बोल्दै मेयर राजु सिंह कठायतले चन्दननाथलाई सफा सुन्दर नगर बनाउने प्रतिबद्धता गरे ।







प्रतिक्रिया राख्नुहोस्